सोनादा: हालसम्म विविध बुनियादी समस्यादेखि माथि उठन नसकेका सोनादालाई लिएर क्षेत्रीय सभासद अनोश थापाले महत्त्वपूर्ण योजनाहरु तयार परेका छन्। सुन्दर सोनादाको परिकल्पना लिएर अघि आएका सभासद थापाले ती महत्त्वपूर्ण योजनाहरु पूर्तिका लागि सोनादाका सचेत जमातलाई एउटा मञ्चमा ल्याएका छन्।

सभासद अनोश थापाकै पहलमा आज भागोप्रमो सोनादा-पचेङ समष्टिको तत्वावधानमा यहाँको स्कटमिशन स्कूल हलमा सोनादाका एकाधिक सचेत पक्षलाई लिएर बैठक गरियो। समष्टि उपाध्यक्ष शेखर गुरुङको अध्यक्षतामा आयोजित सभामा समष्टिका प्रतिनिधि अनि सचेत जमातबीच लामो छलफलपछि ती योजनाहरुको कार्यन्वयनका लागि अहिलेलाई सचेत जमात र पार्टी प्रतिनिधिहरु लिएर तटस्थ कमिटी गठन गरियो। जसमा अध्यक्ष एनआर भोटिया, उपाध्यक्ष थिलेन लामा, सचिव रवि राई, सहसचिव अञ्जन राई साथै सल्लाहकारहरुमा प्रताप छेत्री, कल्याण तामाङ, बीएल राई, शेखर गुरुङ, टिटि भोटिया अनि उदय सुब्बा लगायत १६ जना कार्यकारिणी सदस्यहरु चयन गरियो। सभापछि आयोजित प्रेसभेलामा सभासद अनोश थापा अनि नवगठित कमिटीका सचिव रवि राईले कमिटी गठनको औचित्य र उद्देश्यबारे विस्तृत जानकारी दिए। जसमध्ये पहिलो योजनाको रुपमा सोनादा बजारको वाहन पार्किङ निर्माणलाई लिएको उनीहरूले बताए।