खरसाङ: २०२५मा जीटीए अधीनस्थ विद्यालयका विद्यार्थीहरुले ट्रयाक सुट पनि पाउनेछन् भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘पञ्चायत र ग्रामीण विकास विभागका सचिव डा पी उलागानाथन, आईएएस, सारस मेला समय दार्जीलिङ भ्रमणमा आउनुभएको थियो। सारस मेला उहाँ अधीनस्थ विभागद्वारा नै आयोजना गरिएको थियो। मैले उहाँसँगको भेटघाटमा पहाडको सरकारी प्राथमिक विद्यालयहरूमा राज्यको अन्य जिल्लाहरूमा सरह विगत तीन वर्षदेखि जीटीए अधीनस्थ विद्यालयहरुमा विद्यार्थीहरूको स्कूल युनिफर्म स्वनिर्भर दलका महिलाहरुले तयार ( सिलाएर ) गरेर विद्यालयहरुलाई उपलब्ध गराईरहेको विषयमा ध्यान आकर्षित गराएको थिए। तर पहाडमा वर्षको अधिकांश महिनाहरू जाडो रहन्छ। त्यसैले स्कूल युनिफर्मको साथमा नानीहरूलाई तातो लुगाको पनि जरूरत रहेको बताएका थिए। त्यति मात्र होइन, विद्यालयका शिक्षकहरू, अभिभावकहरू साथै विद्यार्थीहरू पनि ट्रयाक सुट उपलब्ध भए वर्षभरि प्रयोग गर्न सकिने मांग राख्छन्।’
उनले अघि भनेका छन् -‘यी सबै कुराहरूलाई प्रकाशमा ल्याउँदै मैले १५ नोभेम्बर २०२४ को दिन पञ्चायत र ग्रामीण विकास विभागका सचिवलाई पत्राचार गरेको थिए। पत्रमा मैले यस क्षेत्रको हावा पानीलाई ध्यानमा राखी र वर्षको करीब नौ महिना तुलनात्मक रूपमा चिसो रहने तथ्यलाई ध्यानमा राख्दै वर्षभरि प्रयोग गर्न सकिने ट्र्याक सुटको आपूर्तिका लागि विद्यार्थी तथा अभिभावकहरूको चर्को माग रहेको जानकारी दिँदै उठाइएको मुद्दा एकदमै जायज छ र विभागले यस मागलाई सहानुभूतिपूर्वक विचार गर्ने आशा छ भनी निवेदन गरेको थिए।’ त्यसरी नै विज्ञप्तिमा भनेका छन् -‘२१ नोभेम्बर २०२४ को दिन विभागका सचिवको पक्षबाट मैले विद्यार्थीहरूको निम्ति गरेको मांगलाई सिफारिस गर्दै राज्यका मुख्य सचिव, शिक्षा विभागलाई पत्र गएको छ। जीटीएको विद्यालयहरुको २०२५ को निम्ति स्कूल युनिफर्मको मांगलाई दस्तावेज गरिएको छ। २०२५ मा सरकारी विद्यालयहरुले ट्रयाक सुट पनि पाउनेछन्।’