चीन जान थाल्यो इलामेली चिया

IMG-20241122-WA0225

इलाम: इलाममा उत्पादित चिया चीनमा निर्यात थालेको छ। अर्थोडक्स चिया उत्पादनमा अग्रणाी रहेको इलामको गोर्खा टी इस्टेटले चीन निर्यात गरेको हो।
यसअघि भारतसहित अन्य विभिन्न मुलुकमा उक्त उद्योगले चिया निर्यात गर्दै आएको छ।
नेपाल भ्रमणमा आउने चिनियाँ व्यवसायीले व्यक्तिगत रूपमा किनेर लैजाने गरेका थिए। अबदेखि भने औपचारिक रूपमा निर्यात गर्न थालिएको उद्योग व्यवस्थापनले जनाएको छ। मेची भन्सार कार्यालयका अनुसार यसै साता पूर्वी नाकाबाट कोलकाता हुँदै करिब ७० लाख मूल्यको ६ हजार ३ सय ६२ किलो चिया चीन निर्यात भएको छ। चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको हो।
गोर्खा टी इस्टेटका संस्थापक उदय चापागाईँका अनुसार गुणस्तरीय नेपाली चियाका लागि चीन राम्रो बजार भएकाले निर्यात गर्न थालिएको हो। प्रयोगशालामा परीक्षण लगायत सबै प्रक्रिया पूरा गरेर चिया पठाइएको उनले बताए।
इलामको फिक्कलका चिया उद्यमी दिनेश अग्रवालका अनुसार गुणस्तरयुक्त नेपाली चियाको माग चीनमा मात्र होइन समुद्रपारका मुलुकमा पनि छ।
अन्तर्राष्ट्रिय बजारमा पकड जमाउनका लागि चिया रोपणदेखि उत्पादनसम्म गुणस्तरमा ध्यान दिनु्पर्ने उनको सुझाव छ।
नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ। ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement