मदारीहाट: गत जुलाई महिनामा देवकोटा स्कुलको विद्यार्थी र शिक्षकमाझको असझदारीलाई लिएर शिक्षकको घरमा गई त्यस विद्यार्थीको अभिभावकले शिक्षक साथै शिक्षकको परिवारलाइ कुटपीट गरेका थिए त्यसपछि स्कुलमा र शिक्षक महलमा जुन असुरक्षाको भावना पलाएको थियो| आतङ्कको माहौल बनिएको थियो| त्यसलाई लिएर भानुभक्त सांस्कृतिक सङ्घ पीएस कमिटीले स्कुलको सहयोगितामा अभिभावक र नागरिक समाजलाई लिएर हिज स्कुलमा एउटा महत्वपूर्ण सभा डाकेको थियो| सङ्घका संस्थापक सदस्य गोबिन्द गौतमको अध्यक्षतामा भएको यस सभामा सर्वप्रथम गरगण्डा चियाबारीबाट सङ्घका सदस्य तकदीर विश्वकर्माले अभिभावकहरूको दायित्व र जिम्मेवारी बारे गहकिलो विचार राखे भने देवेन विश्वकर्माले यो विद्यालय हाम्रो धरोहर हो यसलाई बचाउने र हाम्रो आउँदो पुस्तालाई सुरक्षित राख्ने सबैको जिम्मेदारी हो र स्कुल परिवेशमा कुनै आँच आए सङ्घ चुप लागेर बस्ने छैन भने| समाजसेवी उत्तम शर्माले पनि पुलिस प्रशासनको काममा प्रश्न चिन्ह गरे भने हन्टुपाडाका समाजसेवी ध्रुवकुमार आलेले स्कुललाई हर प्रकारले सहयोग गर्ने वाचा गरे|

स्कुल पक्षबाट शिक्षक राकेश खरेलले विद्यार्थी र अभिभावकहरूको व्यवहारलाई लिएर चिन्ता व्यक्त गरे भने शिक्षक प्रबीन गौतमले अभिभावक, नागरिक समाज र स्कुलको दायित्व र सामाजिक मेलमिलापबारे कुरा राखे| अभिभावक पक्षबाट सावित्री शर्माले अबदेखि अभिभावकहरूले नकरात्मक होइन सकरात्मक भएर विद्यालयलाई सहयोग गर्ने अपील गरिन्| आजका अतिथि वक्ता मदारीहाट थानाका ओसी गौरव हॉंस्दाले विद्यार्थीलाई पनि नियम कानुनले छुने र अभिभावकले आफ्नो नानीहरूलाई स्कुल अघि र पछि पनि याद गर्ने तिनीहरूको नानीहरूको क्रियाकलापलाई ध्यान दिने आग्रह गरे र प्रशासनको पक्षबाट सहयोग गर्ने भरोसा दिए| अर्का विशिष्ट वक्ता डुवर्स एक्सप्रेस मेलका राजु नेपालीले अभिभावकहरूलाई राम्रो प्रकारले काउन्सेलिङ गरे, शिक्षक र अभिभावकको छत्रछायामा कसरी नानीहरू सफल हुन्छन् भनी नाटकीय ढंगमा उदाहरण दिइ प्रस्तुत गरे|अन्य वक्ताहरूमा टोटोपाडाका हस्त रखाल, हरिलाल छेत्रीले पनि सम्बोधन गरेका थिए|

भानुभक्त सांस्कृतिक सङ्घका अध्यक्ष शम्भु ढकालले अब उप्रान्त यस्तो घटना घटे सङ्घ चुप बस्ने छैन र यसमा सबैको सहयोगको अपील गरे| त्यसको साथै विद्यालयलाई कसरी विकास गर्ने अझ राम्रो बनाउने त्यसबारे पनि सबैलाई अघि आइदिने अनुरोध गरे| शिक्षक किरण उपाध्यायले सञ्चालन गरेको सभालाई सङ्घका सचिव गणेश राउतले धन्यवाद ज्ञापन गरे भने गोबिन्द गौतमले सङ्घको इतिहास, विद्यालयमा योगदान र जिम्मेदारीबारे आफ्नो अध्यक्षीय भाषण राखेका थिए भनी शिक्षक किरण उपाध्यायले जानकारी गराएका छन्|