सिलगढी: पछिल्ला केही महिनाहरूमा अन्य सब्जीहरूसँगै आलुको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। बजारमा आलु प्रतिकिलो ३५ देखि ४० रुपियाँमा बिक्री भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले यसप्रति असन्तुष्टि व्यक्त गर्दै राज्यको आवश्यकता पूरा भएपछि मात्र आलु अन्य राज्यमा निर्यात गर्नुपर्ने बताइन्। मुख्यमन्त्रीको आदेशपछि सिलगढीका विधायक शंकर घोषले सिलगढीका बजारहरूमा गएर बजारमा आलुको मूल्यको बारेमा जानकारी लिए। बजारमा आलुको भाउ भने घटेको उनले बताए। अहिले बजारमा प्रतिकिलो ३५ देखि ३६ रुपियाँमा बिक्री भइरहेको छ। उनले भने, ‘बजारमा आलु छ, तर राज्यको आलु छैनl यस्तो अवस्थामा सवाल उठ्छ कि राज्यको आलु कहाँ छ?’ उनले आलुको मूल्य बढेकोमा राज्य सरकारको निष्क्रियता भन्दै दोष दिएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीबार राज्यमा आलु र प्याजको बढ्दो मूल्यमा नियन्त्रण नभएकोमा आफ्नो असन्तुष्टि व्यक्त गरिन्।
मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य सचिवालय नवान्नमा आयोजित एक पत्रकार सम्मेलनमा भनिन्, ‘अन्य राज्यहरूमा आलु पठाइँदैछ। केही बिचौलियाहरू बढी नाफा कमाउने प्रयासमा छन्।‘ उनले अधिकारीहरूलाई राज्यका जनताको आवश्यकता पूरा भएपछि मात्र आलु बाहिर पठाउन निर्देशन दिइन्। आवश्यक परे, मिड डे मिल लगायत अन्य योजनाहरूका लागि सरकारले आलु किन्ने बताइन्। मुख्यमन्त्रीले भनिन्, ‘राज्यमा प्याजको उत्पादन बढाइएको छ। राज्यमा यसको उत्पादन चार लाख टनबाट बढेर सात लाख टन पुगेको छ।‘