गान्तोक: राज्यमा केन्द्र सरकारका विभिन्न योजनाहरूको कार्यान्वयन र वित्तीय व्यवस्थापनमाथि निगरानी राख्न अनि केन्द्र सरकारसित जवाफदेहिता सुनिश्चित गर्न सिक्किम सरकारले आफ्नै राज्य नीति आयोग गठन गर्ने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीमा एउटा सरकारी कार्यक्रमलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन्। उनले बताएअनुसार राज्य नीति आयोग, सिक्किमा अध्यक्षलगायत जम्मा सातजना सदस्य रहनेछन् जसलाई क्याबिनेटको दर्जा दिइनेछ।
केन्द्र सरकारका धेरै योजनाहरू पारित हुन्छ, राज्यबाट पनि धेरै योजनाहरू लागु गरिन्छ। तर, कहाँ चल्दैछ, कसरी चल्दैछ कसैलाई थाहा हुँदैन। कुन विभागले गर्दैछ त्यो पनि थाहा हुँदैन। त्यसले अब राज्य नीति आयोगलाई पूर्ण अधिकार दिएर ती योजनाहरूको कार्यान्वयन साथै वित्तीय व्यवस्थापन र कामको प्रगतिको रिपोर्ट तयार पार्नेछौं, मुख्यमन्त्री तामाङले भने। यस बारेमा सिक्किम सरकारका मुख्य सचिवसँग आफूले कुराकानी गरिसकेको र चाँड़ैनै राज्य नीति आयोग गठन गरिने उनले थप बताए। हालको समय केन्द्र सरकारले प्रत्येक कार्यक्रम र योजनाको पुख्ता लेखाजोखा माग्ने गरेकोले पनि राज्य नीति आयोग आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ रहेको छ।
यसकोसाथै राज्य सरकारले राज्यका प्रत्येक समष्टिमा समष्टि विकास समिति पनि गठन गर्ने मुख्यमन्त्री तामाङले आज थप घोषणा गरे। राज्य नीति आयोगले सबै समष्टिका विकास समिति र क्षेत्र विधायकहरूलाई साथमा लिएर त्यस समष्टिको विकासको खेस्रा तयार पार्ने पनि उनले थप बताए।










