गान्तोक: देशकै प्रतिष्ठित अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) को अध्यक्ष पदको निम्ति भारतीय फुटबल दलका पूर्व कप्तान भाइचुङ भोटियाले नामाङ्कन भरेका छन्। तर, भोटियाले आफ्नै राज्य सिक्किमबाट भने यो चुनाउमा समर्थन नपाउने स्पष्ट भएको छ। यस आसयको जानकारी भोटिया स्वयंले दिएका छन्। फुटबल आइकन भोटियाले सत्तारूढ़ एसकेएम पार्टीका कतिपय नेताहरूले सिक्किम फुटबल एसोसिएशन (एसएफए) का अध्यक्ष मेन्ला इथेन्पालाई एआईएफएफको चुनाउमा उनको पक्षमा भोट नहाल्न दबाउ दिइरहेको आरोप लगाए। तिनले एसएफए अध्यक्षमाथि प्रेसर गर्ने एसकेएमका ती नेताहरूलाई फुटबलको यो चुनाउमा हस्तक्षेप नगर्न अनुरोध गरे। भोटियाले यदि एसकेएमका नेताहरू सिक्किमको फुटबललाई अगाडि लैजान चाहन्छन् भने २ सेप्टेम्बरको दिन प्रस्तावित चुनाउमा एसएफए अध्यक्षलाई अलग बस्न लगाउनु पर्छ भनी बताए। उनले भने, ‘वहॉंको भोट चाहिएन मलाई। त्यहॉं गएर उनले के गर्छन् त्यो मलाई थाहा छ। सिक्किमको फुटबलको सपनालाई डुबाउॅंछ। एसकेएमका नेताहरू जसले प्रेसर गर्दैछन् उनीहरूले सिक्किमको फुटबलका लागि मेन्लालाई एब्सटेन बस्न लगाउनु।’
अर्कोतिर, भोटियाले गत बैठकमा आफुहरूले एसएफएको कोष दुरूपयोग भएको कुरा उठाएको राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा जानकारी गराए। उनले एआईएफएफको चुनाउपछि कोर्टमा गएर एसएफएको कोष दुरूपयोग विषय स्वतन्त्र निकायद्वारा जॉंचका लागि पहल गर्ने बताए। यस अतिरिक्त भारत सरकारले खेलकुदलाई लिएर एउटा नयॉं कानून बनाएको र सोही कानूनको आधारमा फेडरेशनहरूको चुनाउ हुनुपर्छ भनिरहेको भोटियाले जानकारी गराए। उक्त नयॉं खेलकुद कानूनमा एक परिवारबाट केवल एकजना मात्र सदस्य बन्न पाउने कुरा स्पष्ट उल्लेख गरिएको पनि उनले दाबी गरे। तर, एसएफएमा मेन्ला इथेन्पाको सारा खानदान सामेल रहेको उनले आरोप लगाए। उनले ३ सेप्टेम्बरपछि कोर्ट, भारत सरकारको खेल मन्त्रालय र सिक्किम सरकारलाई खेलकुद कानून हरेक फेडरेशनमा पनि लागू हुनुपर्छ भन्ने अपील गर्ने बताए। उनले मेन्ला इथेन्पा एसएफएको अध्यक्ष पदबाट पछि हट्नुपर्छ भन्ने माग गरे। इथेन्पाले यतिका वर्षसम्म एसएफएका लागि फेडरेशनबाट अथवा व्यक्तिगत रूपमा कुनै प्रकारको सहयोग ल्याउन नसकेको आरोप लगाए। उनले एसएफएमा सही व्यक्तिहरूको चयन आवश्यक छ भन्दै विगत ३०-४० सालदेखि एक-दुई व्यक्ति बाहेक सबै पुरानै सदस्यहरू छन् भनी बताए। उनले यदि सिक्किमको फुटबलको विकास गर्नु हो भने वर्तमान अध्यक्षलाई हटाएर सही व्यक्तिलाई ल्याउनु आवश्यक रहेको बताए। एसकेएम पार्टीले भोटियालाई दिएको चुनौतीबारे प्रश्न गर्दा उनले एआईएफएफको चुनाउपछि यसको जवाफ दिने बताए। स्मरण रहोस्, भाइचुङ भोटियाले एसकेएममाथि लगाएका आरोपहरू प्रमाणित गर्न उनलाई ३ सेप्टेम्बरसम्मको समय दिएको छ। यस अवधि उनले एसकेएममाथि लगाएका आरोपहरू प्रमाणित नगरे उनीमाथि मानहानिको मामिला दर्ता गर्ने बताएको छ।