नयाँ दिल्ली: गयाना देशका राष्ट्रपति डा मोहम्मद इरफान अलिले आज स्टेट हाउसमा आयोजित एक समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘द अर्डर अफ एक्सीलेन्स’ पुरस्कारले सम्मानित गरेका छन्। यो पुरस्कार उनलाई एक दुरदर्शी नेता तथा विश्व मञ्चमा विकासशील देशहरूको अधिकारको रक्षा गर्ने, विश्व समुदायका लागि असाधारण सेवा गर्ने र भारत-गयाना सम्बन्धलाई सुदृढ बनाउन गरेको प्रतिबद्धताका लागि प्रदान गरिएको हो। पुरस्कार ग्रहण गर्दै प्रधानमन्त्रीले यो सम्मान भारतका नागरिकहरू र दुवै देशका जनताबीचको गहिरो ऐतिहासिक सम्बन्धलाई समर्पित गरेका छन्। उनले भने, ‘यो राजकीय भ्रमण भारत-गयाना मित्रतालाई अझ सुदृढ बनाउन भारतको निरन्तर प्रयासको प्रमाण हो।‘ प्रधानमन्त्री नरेन्द्र मोदी गयाना देशको सर्वोच्च राष्ट्रिय पुरस्कार प्राप्त गर्ने चौथो विदेशी नेता हुन्। -पीआईबी