पर्थ: जसप्रीत बुमराह शुरुदेखि नै जिम्मेवारी लिन अनि चुनौतीहरूको सामना गर्न रुचाउँछन्। यसैकारण उनी अष्ट्रेलियाविरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पपहिलो म्याचमा भारतीय टीमको कप्तानी गर्न रोमाञ्चित छन्। ईंग्ल्याण्डविरुद्ध २०२२-को एजबेस्टन टेस्ट म्याचपछि बुमराह दोस्रोपल्ट रोहित शर्माको अनुपस्थितिमा टीमको कप्तान हुनेछन्। शुक्रवारदेखि शुरु हुने पहिलो टेस्ट म्याच अघि उनले भने, म कप्तानीलाई केवल एउटा पदको रूपमा हेर्दिनँ। यो एउटा जिम्मेवारी हो अनि मलाई जिम्मेवारी निर्वाह गर्नु मन पर्छ। म वाल्यकालदेखि नै चुनौतीहरूको सामना गर्न मन पराउँछु। कठिन परिस्थितिहरूमा काम गर्नु मलाई राम्रो लाग्छ अनि यो एउटा नयाँ चुनौती हो। यो जिम्मेवारी केवल एउटा टेस्ट म्याचको निम्ति भए पनि उनले भविष्यमा कप्तानी गर्ने सम्भावनालाई अस्वीकार गरेनन्। बुमराहले भने, म कप्तानी गर्न सक्छु तर यो कुरा स्वाभाविक रूपले म रोहितलाई भन्दिनँ। उनी हाम्रो कप्तान हुन् अनि असाधारण काम गरिरहेका छन्। अहिले त केवल एउटा म्याचको निम्ति हो तर भविष्यबारे केही भन्न सकिँदैन। अहिले त म कप्तान र एकजना खेलाड़ीको रूपमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छु। कप्तानको जिम्मेवारी मैले पहिला पनि निर्वाह गरेको छु अनि त्यस समय पनि मैले जिम्मेवारीको मजा लिएको थिएँ।
अष्ट्रेलिया आउन अघि भारतले न्यूजील्याण्डविरुद्ध होम टेस्ट सीरीजमा ०-३-ले निराशाजनक हारको सामना गर्नु परेको थियो। अहिले नयाँ सीरीजको तयारीमा जुट्ने बुमराहले बताएअनुसार, उनी गत सीरीजमा हारको निराशा लिएर अष्ट्रेलिया आएका छैनन्। उनले भने, कुनै पनि म्याच नयाँ शुरुवात हुन्छ। त्यसअघिको परिणामले कुनै फरक पर्दैन। त्यो जीत होस् या हार। हामी भारतबाट कुनै निराशा लिएर आएका छैनौं। न्यूजील्याण्डविरुद्ध सीरीजमा हारबाट हामीले शिक्षा लिएका छौं तर यहाँ परिस्थिति अलग अनि यहाँ नतीजा पनि अलग हुनेछ। बुमराहले पहिलो टेस्ट म्याचको निम्ति अन्तिम एकादशको चाहिँ खुलासा गर्न चाहेनन्। उनले भने, हामीले अन्तिम एकादश तय गरिसकेका छौं अनि बिहान म्याच शुरु हुन अघि सबैलाई थाहा लाग्नेछ।