गान्तोक: एसडीएफ पार्टीको दक्षिण जिल्लाअन्तर्गत याङगाङ-राङगाङ समष्टिमा आज समष्टिस्तरीय कार्यकारिणी समिति (सीएलईसी) गठन भयो। एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाको अध्यक्षतामा बसेको सभामा सीएलईसी गठन गरिएको थियो भनी प्रेस विज्ञप्तिमा दिइएको छ।
यस सभामा सर्वसम्मतिसहित याङगाङ-राङगाङ समष्टिका सीएलईसी अध्यक्षका रूपमा कर्म पिञ्चो नाम्खालाई चयन गरियो। यसैगरी, युवा प्रकोष्ठ, चेली मोर्चा, सामाजिक संजाल, चालक मोर्चा तथा सल्लाकार समिति पनि चयन गरिएको छ।आफ्नो छोटो सम्बोधनमा अध्यक्ष नाम्खाले भने, पार्टीले दिएको जिम्मेवारी सिक्किमेली जनताका हितमा निर्वाह गर्ने छु। एसडीएफ पार्टीका कार्यकर्ताहरु आ-आफ्ना गाँउ-घर, समाज र समष्टिका जनतालाई राज्यको बिग्रिदो अवस्था र सङ्कटग्रस्थ भविष्यको सत्यता बताएर यसका समाधानका निम्ति जनतालाई एकजुट बनाउनु पर्छ। उनले नवगठित सीएलईसीका सदस्यहरूलाई आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरिदिन आग्रह गरे।

आफ्नो अध्यक्षीय सम्बोधनमा सुब्बाले एसकेएम सरकारको रिपोर्ट कार्ड शुन्य रहेको बताउँदै वर्तमान सरकारले कुनै पोलिटिकल डिमान्ड पुरा गर्नु नसकेको र ठोस विकासको काम गर्नु नसकेको बताए। उनले आफ्नो घोषणा पत्रमा गरेका वाचाहरू पुरा गर्न नसक्नु एसकेएम सरकारको ठूलो विफलता रहेको उनले बताए। वर्तमान सरकारले सिक्किमको अस्तित्वलाई सङ्कटमा पारेको आरोप लगाउॅंदै सरकारले गम्भीर अध्ययन नगरी सिक्किममा ओएनओआरसी, सीएए-एनआरसी लागू गरेको छ भनी बताए। उनले बितेका चार वर्षको बजेट न त तृणामूल स्तरका जनताले देख्न सक्यो न त राज्यको कुनै ठूलो विकास कार्यमा परिणत भयो भनी बताए।यस सभामा समष्टिस्तरमा गरिने पार्टीको भावी कार्यक्रम र योजनामाथि व्यापक रूपमा बहस गर्दै जन-सम्पर्क अभियान अविलम्ब शुरू गर्ने निर्णय लिएको छ। यसबाहेक उक्त सभामा एसडीएफ पार्टीको समष्टिस्तरीय कार्यालय चॉंडै शुभराम्भ गर्ने निर्णय लिइएको छ।