फुङलिङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात भएको छ। ३ हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार राति १२ बजेदेखि सामान्य हिमपात सुरु भएको हो। पाभीभरा धाम परिसरभन्दा केही तलसम्म हिउँ परेको महतले जानकारी दिए। उनका अनुसार अहिले पनि पाथीभरा क्षेत्रमा छार्के अर्थात फाटफुट्ट हिमपात भइरहेको छ।

पाथीभरा क्षेत्रमा कुनै वर्ष सेप्टेम्बर महिनामै हिमपात हुने गरेको थियो। यसवर्ष भने बुधबार राति पहिलो पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए। हिमपातको मौसम सुरु भएकाले पाथीभरा दर्शन गर्ने भक्तजनलाई आफ्नो स्वास्थ्यलाई समेत दृष्टिगत गर्न अर्थात चिसो समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे ध्यान दिन आग्रह गरेका छन्।

पाथीभरा क्षेत्रसँगै जिल्लाको उच्च हिमाली भेगमा सामान्य हिमपात भएको स्थानीयले बताएका छन्। फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको घुन्सा, फले, वडा-७ ओलाङ्चुङगोला, याङ्मा बस्तीका माथिल्लो भेगहरुमा हिमपात भएको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिए। स्थानीयका अनुसार चार हजारभन्दा बढी उचाइ रहेको हिमाली क्षेत्रमा सामान्य हिउँ पर्न सुरु भएको छ। यता हिमपात भएपछि जिल्लामा चिसो निकै बढेको छ।

सदरमुकाम फुङ्लिङसहित जिल्लाभर तुलनात्मक रुपमा चिसो अनुभूति हुन थालेको छ। जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार बिहीबार बिहानको यहाँको न्युनतम् तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिएको छ।










