विराटनगर: मोरङको बूढीगंगामा बिहीबार बिहान १० बजेतिर मानव कंकाल फेला परेको छ। बूढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा कंकाल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा कंकाल भेटिएको छ।
धान काट्न गएकाहरुले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए। कंकाल कसको र कति पुरानो हो भन्ने खुलेको छैन। घटनाको जानकारी पाउनसाथ अनुसन्धानका लागि डीएसपी जोशी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पनि घटनास्थलतर्फ जाँदै छ। अहिले कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा. ज्वाला कँडेल र प्रहरीको टोली घटनास्थलमा छ। टोलीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
तत्काल नाम, थर, वतन तथा लिंग नछुट्टिएको कंकाल फेला परेको जोशीले बताए। उनका अनुसार जंगली जनावर र कुकुरले खाएजस्तो देखिने मान्छेको टाउको, हात र खुट्टासहितको कंकाल खुट्टामा निलो ‘हाफ पाइन्ट’ लगाएको अवस्था भेटिएको हो। डीएसपी जोशीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट कंकाललाई परीक्षणका लागि कोशी अस्पताल लगिने जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।










