उर्लाबारी: मोरङमा दुर्घटनामा परेर घाइते भएकी एक जना महिलाको आज बिहान मृत्यु भएको छ।
उर्लाबारी नगरपालिका-४ किसान चोकमा प्रदेश १-०१-०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पम्फा श्रेष्ठ घाइते भएकी थिइन्। प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका-६ घर भएकी श्रेष्ठलाई गत नवंबर १२मा मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। स्वास्थ्यमा सुधार नभएको भन्दै परिवारका सदस्यले अस्पतालबाट बुधबार राति निकालेका थिए। अवस्था थप जटिल बन्दै गएपछि पुनः उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगियो। उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको बिर्तामोड नगरपालिका-१ का २१ वर्षीय अनिषकुमार कट्टेल पनि सामान्य घाइते भएका थिए। उपचारपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।