नयाँ दिल्ली: पूर्व भारतीय स्पिनर हरभजन सिंहले बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीज २०२४-२५-को निम्ति पेस बलिंग अलराउण्डर शार्दुल ठाकुरको चयन नगरिँदा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को आलोचना गरेका छन्। हरभजनले टेस्ट सीरीजको निम्ति शार्दुल ठाकुर र हार्दिक पाण्ड्या जस्ता अनुभवी खेलाड़ीहरूलाई भुलेर युवा नितीश रेड्डी जस्ता खेलाड़ीलाई चयन गर्ने चयनकर्ताहरूका फसेलामाथि प्रश्न उठाएका छन्। भारत र अष्ट्रेलियाबीच ५ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत पहिलो टेस्ट शुक्रवारदेखि पर्थमा शुरु हुनेछ। पर्थमा युवा अलराउण्डर रेड्डीले टेस्ट पदार्पण गर्ने सम्भावना रहेको छ। शार्दुलले गत केही सीरीजमा असल प्रदर्शन गरे पनि चयनकर्ताहरूले रेड्डीमाथि भरोसा देखाएका छन्। शार्दुल गत केही सालदेखि विदेशी टेस्टमा टीमका प्रमुख पेस बलिंग अलराउण्डर थिए तर बोर्डर-गावस्कर ट्रफी २०२४-२५-को निम्ति उनको नाममा विचार गरिएन। पर्थमा रेड्डी चौथो सीमर हुनेछन्। विशेषज्ञ पेस बलरको रूपमा जसप्रीत बुमराह, मोहम्मद सिराज र आकाश दीपको साथमा प्रसिद्ध कृष्णा र हर्षित राणामा एकजनाले खेल्ने मौका पाउने सम्भावना छ। रेड्डीले अहिलेसम्म भारतको निम्ति ३ वटा टी२० म्याच खेलेका छन्। यसरी २३ वटा प्रथम श्रेणीको म्याचमा उनले २१.०५-को औसतले ७७९ रन बनाउनको साथै ५६ विकेट लिएका छन्।
हरभजनले भने, बोर्डर-गावस्कर ट्रफीको निम्ति विशेषगरी अष्ट्रेलियामा भारतलाई शार्दुल र पाण्ड्या जस्ता अनुभवी अलराउण्डरको आवश्यकता थियो। यी दुईजना रहँदा-रहँदै पनि चयनकर्ताहरूले रेड्डीलाई चयन गरे। अहिले हामीसँग रेड्डीलाई खेलाउने बाहेक अन्य उपाय छैन। शार्दुल र पाण्ड्याको योगदानलाई भुल्नु हुँदैन तर हामीले उनीहरूलाई केवल छोटो प्रारूपमा सीमित राखेका छौं। हामीले गत २-३ सालदेखि शार्दुलमाथि निवेश गऱ्यौं अनि अहिले समय आएपछि उनलाई भुल्यौं। अहिले यस्तो महत्त्वपूर्ण सीरीजमा हामी रेड्डी जस्ता अनुभवहीन खेलाड़ीमाथि निर्भर रहनु पर्दैछ। महान स्पिनरको भनाइअनुसार, रेड्डी एकजना उचित अलराउण्डर होइनन् कारण उनले केही ओभर मात्र बलिंग गर्न सक्छन्। यस मामिलामा उनले पूर्व कप्तान सौरभ गांगुलीको उदाहरण दिए। हरभजनले भने, रेड्डीले लामो स्पेलमा बलिंग गर्न सक्दैनन्। सौरभ गांगुलीले पनि बलिंग गर्थे तर केही ओभर मात्र। त्यसमा १-२ विकेट हासिल भए टीमको निम्ति बोनस हुन्थ्यो।