गान्तोक: आगामी ३० नोभेम्बरदेखि ४ दिसम्बरसम्म चीनको हङकङ शहरमा आयोजना हुने वर्ल्ड ताइक्वाण्डो पुम्से च्याम्पियनशीपमा सिक्किमका नौजना खेलाड़ीहरूले देशलाई प्रतिनिधित्व गर्नेभएका छन्। सिक्किमका खेलाड़ीहरूले लामो सङ्घर्ष, अथक प्रयास र राष्ट्रियस्तरमा उल्लेखनीय प्रदर्शनी गरेपछि यसरी अन्तर्राष्ट्रीय स्तरमा देशलाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको हो। सिक्किमका खेलाड़ीहरूले राष्ट्रिय च्याम्पियनशीप साथै च्याम्पियन अफ् च्याम्पियन्स टुर्नामेन्टमा स्वर्ण पदक जितेका छन्।
सिक्किम अमेच्यूर ताइक्वाण्डो एसोसिएशनको पक्षमा मास्टर त्रिलोक सुब्बाले आज राजधानीमा पत्रकारहरूसँग कुराकानी गर्दै कसरी सिक्किमका नौजना खेलाड़ीहरूले अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा देशलाई प्रतिनिधित्व गर्ने अवसर पाए भन्ने बारेमा जानकारी गराए। यस अवसरको निम्ति खेलाड़ीहरूले धेरै परिश्रम गर्नुपरेको उनले बताए। तर, अन्तर्राष्ट्रिय च्याम्पियनशीपको निम्ति छनौट भएका खेलाड़ीहरू कोही पनि आर्थिक रुपमा सबल नभएकोले केही समस्या भइरहेको सुब्बाले बताए। यस्तोमा उनले सिक्किम सरकारबाट खेलाड़ीहरूलाई सहयोग आवश्यक्ता रहेको बताउँदै राज्य सरकारले सहयोग गर्ने आशा पनि व्यक्त गरे।
वर्ल्ड ताइक्वाण्डो पुम्से च्याम्पियनशीपमा देशलाई प्रतिनिधित्व गर्ने खेलाड़ीहरूमा सिनियर वर्गमा मास्टर त्रिलोक सुब्बा, गंगा प्रधान, उगेन गुरुङ, अद्विती सुब्बा, छुल्टिम पाल्मु भोटिया र प्रियदर्शनी जे बानिया अनि क्याडेट महिला वर्गमा स्मारिका गुरुङ र रेयोङ हाङ्गमा राई रहेका छन्। नौजना खेलाड़ीहरूको साथमा महिला टीम कोचको रुपमा पेम्पा डोल्मा तामाङ पनि हङकङ जानेछिन्।
हङकङको निम्ति सिक्किमे टोली आगामी २६ नोभेम्बरको दिन दिल्ली प्रस्थान गर्ने र त्यहाँबाट भारतीय टीममा सामेल भएर हङकङ प्रस्थान गर्ने मास्टर त्रिलोक सुब्बाले जानकारी गराएका छन्।