गान्तोक: `पद्मश्री साधना सम्मान´ र ´विश्व शिखर सम्मान´ले विभुषित भएका एसडीएफ अध्यक्ष तथा स्रष्टा पवन चामलिङलाई आज एसडीएफ परिवारले सम्मानसहित बधाई ज्ञापन गर्यो। नेपालको प्रतिष्ठित सामाजिक संगठन हेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले गत २२ अक्टोबरमा काठमाडौंमा चामलिङलाई `पद्मश्री साधना सम्मान´ र २६ अक्टोबरमा विश्व नेपाली साहित्य महासंघको तेस्रो महाधिवेशनमा चामलिङलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिका बाहुलीबाट `विश्व शिखर साहित्य अभिनन्दन´द्वारा सम्मानित गरिएको थियो। उक्त सम्मान कार्यक्रममा लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पवन चामलिङको साहित्यिक राजनैतिक अनि उनको दर्शनप्रतिको कदर गर्दै पद्मश्री साधना सम्मान प्रदान गरेको बताएका थिए। विश्व नेपाली साहित्यको कार्यक्रममा संघले मानव समाजका निम्ति चामलिङको योगदानलाई कदर गर्दै अभिनन्दन जनाएको बताएको थियो। यसरीनै नेपालका प्रधानमन्त्रीले आफ्नो वक्तव्यमा पवन चामलिङ भारतको सिक्किम राज्यका मुख्यमन्त्रीको हैसियतमा केवल त्यहाँका मानिस र भुगोलको मात्र सेवा गरेनन् बरु उनका नीति र दर्शनले समग्र विश्वलाई मार्गदर्शन गरेको छ्न् भन्ने मन्तव्य जाहेर गरेका थिए। यस्तो गौरवपूर्ण र सिक्किमेली समाजको मर्यादालाई विश्व जगतमा सम्मानित तुल्याउन सफल भएकामा एसडीएफ परिवारले आज पार्टी अध्यक्षलाई बधाई तथा सम्मान जनाउन बधाई ज्ञापन कार्यक्रमको आयोजना गरेको हो।
बाइपासस्थित पार्टी मुख्यालयको प्रेक्षा गृहमा भव्य रूपमा सम्मपन्न ज्ञापन कार्यक्रममा चामलिङलाई समस्त सिक्किमेली जनताका पक्षबाट पार्टीले बधाई ज्ञापन पत्र, दोसल्ला एवम् पुष्पगुच्छासहित खदा-माला अर्पण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै चामलिङले साहित्यको महत्त्वलाई प्रकाश पारे। यसैक्रममा उनले साहित्य जनताको पक्षमा लेखिनुपर्ने कुरामा जोड दिए। सिक्किमका नवयुवाहरूलाई जनताका पक्षमा निडर भएर राजनीति गर्न उनले आग्रह गरे। सम्बोधनका क्रममा चामलिङले नवयुवाहरूको नेतृत्वमा एसडीएफले काम गर्ने कुरा बताउँदै आफू युवाहरूको साथमा रहेर सिक्किम र सिक्किमेली जनताका निम्ति निरन्तर राजनीतिमा सक्रिय रहने विचार साझा गरे। सिक्किम अहिले राजनैतिक ,आर्थिक ,सामाजिक र सबै क्षेत्रमा लथालिङ्ग र भताभुङ्ग भइसकेको बताउँदै एसडीएफ यी सबैबाट सिक्किमलाई समाल्न कटिबद्ध रहेको एसडीएफ अध्यक्षले बताए। आमोश आर लेप्चाद्वारा संचालित आजको कार्यक्रममा स्वागत भाषण श्रीमती जुडी राई दाहाल र धन्यवाद ज्ञापन सुश्री दिव्याकला शर्माले राखे। यस कार्यक्रममा पार्टी अध्यक्षलाई बधाई तथा सम्मान जनाउन राज्यका सबै जिल्लाका एसडीएफप्रेमी र सदस्यहरूले उपस्थित जनाएको प्रचार प्रसार मामिला उपाध्यक्ष कृष्ण खरेलले प्रेस बयान जारी गरि बताएका छन्।