गान्तोक:: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको मंगलवार6 सिङतामस्थित पार्टी कार्यालयमा सक्रिय सदस्य अभियानको निम्ति एक सभा सम्पन्न भयो। राज्य अध्यक्ष डीआर थापाको अध्यक्षतामा बसेको उक्त सभामा पार्टी उपाध्यक्ष दिनेशचन्द्र नेपाल, पीएस लिम्बू, महासचिव अर्जुन राई लगायत राज्यका सक्रिय सदस्यहरू उपस्थित थिए।सभालाई सम्बोधित गर्दै प्रदेश अध्यक्ष थापाले विभिन्न समसामयिक समस्याका साथै संगठनात्मक चिन्तालाई केन्द्रित गर्दै बुथ स्तरमा संगठनलाई मजबुत बनाउन सक्रिय सहभागितामा जोड दिए। हालैमा राज्य सरकारले ९७ वटा सरकारी विद्यालयहरू बन्द गर्ने लिएको निर्णयबारे बोल्दै उनले कमजोर शिक्षा प्रणालीका कारण राज्यका ९७ वटा विद्यालय बन्द हुनु चिन्ताजनक रहेको बताए। उनले विद्यालय बन्द गर्नु समस्याको समाधान होइन भन्दै सरकारले गुणात्मक शिक्षामाथि ध्यान दिनुपर्छ भनी बताए।