सोरेङ: जिल्ला जल एवं स्वच्छता मिशन (डीडब्ल्यूएसएम)-को तत्वावधानमा आज स्थानीय रुर्बन कम्प्लेक्समा विश्व शौचालय दिवस पालन गऱ्यो। उल्लेखनीय छ, प्रत्येक वर्ष १९ नोभेम्बरको दिनलाई विश्व शौचालय दिवसको रुपमा पालन गरिन्छ।
आजको कार्यक्रममा जिल्लापाल धिरज सुवेदी मुख्य अतिथि रहेका थिए। उनको साथमा पञ्चायत अध्यक्ष डीआर विष्ट, अतिरिक्त जिल्लापाल गयास पेगा, विभिन्न विभागका प्रमुखहरू, अधिकारी अनि कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले किन विश्व शौचालय दिवस पालन गरिन्छ भन्ने बारेमा जानकारी गराए। उनले बताएअनुसार स्वस्थ जीवनको निम्ति शौचालयको महत्वबारे जनचेतना जगाउन वर्ष २०१३-देखि विश्व शौचालय दिवस पालन गरिन थालेको हो। जिल्लापालले थप जानकारी गराएअनुसार यो कार्यक्रम जिल्लाका विभिन्न गैरसरकारी सङ्गठन र विद्यालयहरूलाई लिएर आगामी १० दिसम्बरसम्म चल्नेछ। यसै कार्यक्रमबीच अप्पर टिम्बरबुङ जीपीयू-का दश लाभार्थीलाई शौचालय निर्माणको वर्क अर्डर पनि प्राप्त गरे। कार्यक्रमको समापनपछि सोरेङ जिल्ला जल एवं स्वच्छता मिशनको पहिलो बैठक पनि बस्यो जसलाई जिल्लापाल धीरज सुवेदीले अध्यक्षता गरेका थिए।