नाम्ची: नाम्ची जिल्ला खानेपानी तथा सरसफाई अभियान समितिले आज जिल्ला प्रशासन केन्द्र नाम्चीमा विश्व शौचालय दिवस मनाएर सफाईबारे सन्देश दिएको छ। नाम्ची जिल्लाकी अतिरिक्त जिल्लापाल तिरसाङ तामाङको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रशासनका अधिकारीहरु लगायत विभिन्न विभाग र स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। अतिरिक्त जिल्लापाल तिरसाङ तामाङले कार्यक्रमको उद्देश्यबारे सबैलाई जानकारी दिँदै सरसफाइ अभियानमा सक्रियताका साथ योगदान गर्न सबैलाई आग्रह गरिन्। उनले ग्राम पञ्चायत एकाई र स्वास्थ्य केन्द्रहरूमा पानीको अभावबारे बोल्दै यस्तो आवश्यकतालाई ग्राम विकास अधिकारीहरूले प्राथमिकता दिनुपर्ने सल्लाह दिइन्। उनले अभियानको कार्यान्वयनको प्रगति प्रतिवेदन आगामी बैठकमा पेश गर्न सबै विभागलाई निर्देशन दिइन्। अर्का अतिरिक्त जिल्लापाल डा. सीपी राईले १९ नोभेम्बरदेखि १० दिसम्बरसम्म चल्ने विश्व शौचालय दिवस पालन गर्नुपर्ने बताए। सार्वजनिक अनि घरेलु शौचालयको मरम्मति र सफाइमाथि ग्राम पञ्चायतहरुले काम गर्नुपर्ने बताए। उनले अभियानको अन्तिम दिनसम्म जिल्लाका सबै शौचालय र अन्य स्थानहरुको सफाइमाथि ध्यान केन्द्रित गर्नुपर्ने कुरामा पनि जोर दिए। हर घर जल पहलका लागि नियमित स्थलगत भ्रमण र प्राविधिक सहयोग संरचनाको स्थापनाको महत्वलाई पनि प्रकाश पारेका थिए। अर्का अधिकारी सञ्जीव कुमार राजालिमले नाम्ची जिल्लाका प्रत्येक ग्रामीण परिवारलाई कार्यात्मक ट्याप जडानहरू प्रदान गर्ने लक्ष्य राखिएको जानकारी गराए। उनले १३६ गाउँमा खानेपानी पुऱ्याउन महत्वपूर्ण प्रगति भइरहेको उल्लेख सम्बोधनमा थपे। यस बैठकले यस क्षेत्रमा सरसफाइ र खानेपानी व्यवस्थापनलाई प्रवर्द्धन गर्नका साथै जनस्वास्थ्य र सरसफाइमा सुधार गर्न विभिन्न विभागहरूको प्रयासको प्रशंसा गरेको थियो।