खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा रहेको गोल घरमा भारत सरकारको पर्यटन मन्त्रालय कोलकोता क्षेत्रीय कार्यालय र सिटोङ ईको ट्राभलर वेलफेयर सोसाइटीको आयोयनामा ग्रामीण पर्यटनमाथि एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रम ईस्टन हिमालयन ट्राभलर एण्ड टुर अपरेटरद्वारा प्रशिक्षण गराइएको थियो। उक्त प्रशिक्षणमा सिटोङ क्षेत्रका पचासजना पर्यटन व्यवसायीहरुले भाग लिएका थिए।

सहभागीहरु सबैलाई स्मृति चिन्ह प्रदान गरिएको छ भने सबैलाई प्रमाण पत्र केही दिनभित्र नै प्रदान गरिने जानकारी प्राप्त भएको छ। उक्त पर्यटन व्यवसायीहरुलाई लिएर आयोजित प्रशिक्षण कार्यक्रममा भारत सरकारको पर्यटन मन्त्रालयको सहायक निर्देशक ज्योतिर्मय विश्वास, ईएचटीटीओएका महासचिव देवाशिष चक्रवर्ती, सञ्जु रोय,सिटोङ ईको ट्राभलर वेलफेयर सोसाइटीको तर्फबाट सन्ध्या आचार्य लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भारत सरकारको पर्यटन मन्त्रालयको सहायक निर्देशक ज्योतिर्मय विश्वासले सिटोङमा पर्यटन व्यवसायमा राम्रो प्रगति भएको छ भन्दै सिटोङले प्लास्टिकमुक्त गाउँ घोषणा गराउनलाई राम्रो उत्तरदायित्व वहन गरेको बताएका छन्। उनले सिटोङले आफ्नो क्षेत्रमा पर्यटनलाई राम्रोसितले प्रमोट गरिरहेको बताउँदै भारत सरकारको पर्यटन मन्त्रालयले निधि पोर्टलमार्फत् ग्रामीण क्षेत्रहरूमा ग्रामीण पर्यटन, होम स्टे आदिलाई प्रवर्द्धन गर्नलाई र होम स्टेहरु संचालनको लागि यस्तो प्रशिक्षणमार्फत् ग्रामीण पर्यटन व्यवसायलाई प्रवर्द्धन गरिरहेको बताएका छन्।