चोभार स्थित सुक्खा बन्दरगाहले अब चीनसंगको व्यापार समेत खुला गरयो

IMG-20241119-WA0205

काठमांडू: काठमांडूको चोभारस्थित सुक्खा बन्दरगाहले अब चीनसंगको व्यापार समेत खुलाएको छ। भन्सार विभागका अनुसार चिनियाँ नाका भएर चोभार सुक्खा बन्दरगाहसम्म माल सामान ल्याउन कानुनी बाटो खुलेको हो। अब आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी गराए।
अर्थ मन्त्रालयले भन्सार ऐन १९९६ को दफा ८९ (च) बमोजिम हालै राजपत्रमा एक सूचना प्रकाशित भएको छ। जसले सीमास्थित भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका माल सामान सो कार्यालयबाट जाँचपास नगरार बन्दरगाह भन्सारमा लगी जाँचपास गराउन चाहे त्यस्तो माल सामान बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिम सडकमार्गबाट लैजान आन्तरिक परिवहन सुविधा दिएको छ। यो चोभारस्थित सुक्खा बन्दरगाहका लागि दिइएको सुविधा हो।
यो सूचनामा आन्तरिक परिवहन सुविधा दिने भन्सार कार्यालय तोकिएको छ ।जसमा वीरगञ्ज, मेची, विराटनगर, भैरहवा, तातोपानी, रसुवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह सिर्सिया पर्साबाट नेपाल प्रवेश गर्ने मालसामानका हकमा मात्र चोभार आउने गरी आन्तरिक परिवहन सुविधा दिइएको छ। यसअघि २०२१ मा प्रकाशित सूचनाले वीरगञ्ज भन्सार, मेची भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट आउने मालवस्तु समेत सिधै काठमांडू आउने सुविधा थियो।
यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिले चीनसँगको व्यापार खुल्न नसक्दा बन्दरगाह अपेक्षित खुल्न नसकेको गुनासो गरेको थियो। यसबाट काठमांडू आउने मालसामान सीमा भन्सारमै अनलोड गरी पुनः अर्को गाडीमा ल्याउने प्रक्रियाले लागत र समय दुवै बढ्ने गर्छ। यसले पैठारीकर्ता र उपभोक्ता दुवैलाई फाइदा हुने समितिको भनाइ छ।
विभागका महानिर्देशक पुडासैनीले राजपत्रमा प्रकाशित यो सूचनाले अब उत्तर र दक्षिण दुवैतर्फका नाकाबाट आएका कन्टेनर सिधै काठमांडू ल्याउन कानुनी बाटो खुला गरिएको जानकारी दिए।
राजपत्रमा प्रकाशित सूचना अनुसार मालसामानको आन्तरिक परिवहन सुविधा लिन चाहने पैठारीकर्ताले अनुमति लिन प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयमा ट्रान्जिट मोड्यूल प्रयोग गरी आवश्यक विवरण भरेर भन्सार अधिकृत समक्ष निवेदन दिनुपर्ने भएको छ।
त्यसरी आएको निवेदन अध्ययन गरी प्रणालीबाटै अनुमति दिन सकिने सूचनामा उल्लेख छ। यो फारम चालकले बन्दरगाह भन्सारमा मालवस्तु घोषणा नगरेसम्म साथमा राख्नुपर्ने भएको छ।
सूचनामा उल्लेख भए अनुसार प्रचलित बैंकिङ प्रणाली मार्फत भुक्तानी हुने गरी पैठारी भएको हुनुपर्छ। चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी गर्नुपर्छ।
प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारसम्म भूमण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित विद्युतीय ट्र्याकिङ प्रणाली भएको ताला लगाइएको हुनुपर्छ। तर, गुडाएर लैजाने नयाँ सवारीसाधनका हकमा जीपीएस आवश्यक छैन।
काबुबाहेकका परिस्थितिमा आन्तरिक परिवहन लिएको ७२ घण्टाभित्र ढुवानी साधन काठमांडू चोभार पुगिसक्नु पर्नेछ। यसरी आएको सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे भन्सार प्रमुखलाई जानकारी गराउनुपर्ने सर्त राखिएको छ। सवारीसाधनलाई बाटोमा खोल्न, हेर्न र जाँच गर्न पाइने छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement