नवदीप युउथ् क्लबको १८औं स्थापना दिवससितै सम्बर्ध्दना कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा नवदीप युउथ् क्लबको १८औं स्थापना दिवस पालन गरिएको छ। सन् २००४ मा स्थापना भएको नवदीप युउथ् क्लबको १८औं स्थापना दिवस कार्यक्रम क्लबकै वर्तमान सभापति रामचन्द्र राईको अध्यक्षता र स्प्रिङडेल एकाडेमी सिविटारको प्राचार्य शरणकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कुलबहादुर छेत्री, अशोक सुब्बा, असीत राई र राजीव तामाङ उपस्थित रहेका थिए। नवदीप युउथ् क्लबको स्थापना दिवस प्रमुख अतिथि शरणकुमार राईको बाहुलीबाट केक काटेर पालन गरिएको छ।

यसै कार्यक्रममा नवदीप युउथ् क्लबको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक सदस्याहरूलाई सम्मान पनि गरिएको छ। यस अवसरमा क्लबको संस्थापक सभापति राजीव राई, संस्थापक सचिव हनोक थापा, संस्थापक कोषाध्यक्ष ध्यानचन्द्र राई लगायत संस्थपाकहरू क्रमैले आशिष प्रधान, सत्यवान छेत्री, जितेन राई आदिलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ। त्यसरी नै गाउँकै सुपुत्र तथा कवि पत्रकार हनोक थापालाई उनले पत्रकारिता र साहित्य क्षेत्रमा दिएको योगदानको लागि नवदीप युउथ् क्लबको पक्षबाट खदार्पणसहित सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। उनको सम्बर्ध्दना पत्र असीम प्रधानले पठन गरेका थिए। त्यसरी नै क्लबको पक्षबाट कोलकोतामा सम्पन्न छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जित्न सफल सिविटारकै छोरी रोजी प्रधानलाई पनि सम्मान जनाइएको छ।

कार्यक्रममा कराँते खेलाड़ीहरू यथार्थ राई, आयुष प्रधान र ईशान्त प्रधानलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा साहित्य र सांगीतिक क्षेत्रमा अघि बढ़िरहेका उज्जवल सेवालाई पनि स्मृति चिह्न प्रदान गरी सम्मान जनाइएको छ। यसै कार्यक्रममा गायक मोहित भुजेल, रामचन्द्र राई, यथार्थ राईद्वारा गीत, उज्ज्वल सेवाद्वारा कविता, संस्कृति प्रधानद्वारा नृत्य प्रस्तुत गरिएको थियो।

सदीप राईद्वारा सञ्चालन गरिएको कार्यक्रममा असीम राईले नवदीप युउथ् क्लबको विषयमा वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन सभापति रामचन्द्र राईले राखेका थिए। कार्यक्रममा नवदीप युउथ् क्लबको संस्थापक सदस्यहरूको पक्षमा हनोक थापाले वक्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि शरणकुमार राई र विशिष्ट अतिथि कुलबहादुर छेत्रीले पनि वक्तव्य राखेका थिए। दुवैले नवदीप युउथ् क्लबको १८औं स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै नवदीप युउथ् क्लबले निरन्तर रूपमा यसरी नै समाजसेवा र भाइ बहिनीहरूलाई विभिन्न क्षेत्रहरूमा प्रोत्साहन र हौसला प्रदान गर्दै जाने साथै आवश्यक परेको खण्डमा हामी पनि सहयोग गर्न तयार छौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement