मंगन: तीन दिवसीय सिक्किम भ्रमणमा आएका भारत सरकारको केन्द्रिय कृषि एवं कृषक कल्याण राज्यमन्त्री रामनाथ ठाकुर आज उत्तर सिक्किमको मंगन पुगे। मंगनमा आयोजित पूर्वोत्तर सम्पर्क सेतु कार्यक्रममा उनले भाग लिए। केन्द्रिय राज्यमन्त्रीले विभिन्न विभागका प्रमुखहरूलाई लिएर मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा चर्चा परिचर्चा पनि गरे। आफ्नो सम्बोधनमा उनले विभागका अधिकारीहरूलाई मंगन जिल्लामा थाँतीमा रहेका कामहरू जिल्लाको हितमा शिघ्र पूरा गर्न सुझाउ दिँदै नयाँ वर्षको अग्रिम बधाई साथै शुभकामना पनि दिएका। यस अघि जिल्लापाल अन्नत जैनले मंगन जिल्लामा भइरहेको विभिन्न प्रकारको गतिविधिबारे जानकारी गराएका थिए। यस अवसरमा केन्द्रिय मन्त्रीले मंगन जिल्लामा निर्माणाधीन अवस्थामा रहेको अस्पतालको पनि निरीक्षण गरे। त्यसपछि उनले कृषि विज्ञान केन्द्रको भ्रमण गर्दै स्थानीय कृषकहरूद्वारा राखिएका स्टलहरूको निरीक्षण गर्दै कृषकहरूसँग अन्तक्रिया पनि गरे। उनले नागामा आपदा प्रभावित क्षेत्रहरूको संक्षिप्त भ्रमण गरेको बताइएको छ।