केन्द्रीय कृषि राज्यमन्त्री ठाकुरले गरे कृषि वैज्ञानिकहरुसँग अन्तर्क्रिया

IMG-20241118-WA0286

गान्तोक: हाल सिक्किम भ्रमणमा रहेका केन्द्रीय कृषि राज्य मन्त्री रामनाथ ठाकुरले आज स्थानीय भारतीय कृषक अनुसन्धान परिषद र पूर्व जिल्ला कृषि विज्ञान केन्द्र रानीपुल परिसरको भ्रमण गरे। केन्द्रीय मन्त्री ठाकुरले पूर्व सिक्किमको कृषि विज्ञान केन्द्रको भ्रमण गरेर कार्ययोजनाहरुबारे जानकारी लिए। उल्लेख्य, केन्द्रीय कृषि तथा किसान कल्याण राज्य मन्त्री ठाकुर हाल सिक्किमको भ्रमणमा छन्। यस क्रममा उनले कृषिसम्बन्धी योजनाहरुबारे जायजा लिनेछन्। आफ्नो भ्रमणको क्रममा मन्त्री ठाकुरले कृषि विज्ञान केन्द्र टोलीसित अन्तर्क्रिया गरे र यस क्षेत्रमा कृषि उत्पादकत्व र दिगोपन बढाउने उद्देश्यले चलिरहेका पहलहरूको समीक्षा गरे। मन्त्रीले जैविक खेती, माटोको स्वास्थ्य व्यवस्थापन, र जलवायु-अनुकूल कृषिमा कृषि विज्ञान केन्द्रको विभिन्न पहलहरूबारे समीक्षा गरे। कृषकहरूमा उद्यमशीलता र कौशल विकासलाई प्रवर्द्धन गर्ने तरिकाहरूबारे छलफल पनि गरे। उनले दिगो कृषि अभ्यासका लागि प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिको महत्त्वलाई जोड दिए। भ्रमणले “आत्मनिर्भर भारत” को धारणासँग मिलाएर दिगो कृषि र ग्रामीण उत्थानमा सरकारको ध्यान केन्द्रित गरेको छ। भारतको पहिलो पूर्ण जैविक राज्यको रूपमा, सिक्किमको जैविक खेती मोडलको राष्ट्रिय महत्त्व रहेको उल्लेख केन्द्रीय मन्त्रीले कार्यक्रममा गरे। भारतीय कृषि अनुसन्धान परिषद् र कृषि विज्ञान केन्द्रअन्तर्गत कृषकहरुलाई उपलव्ध गराइने सुविधा र तालिमबारे केन्द्रीय मन्त्रीलाई जानकारी गराइएको थियो। केन्द्रीय मन्त्रीले आफ्नो भ्रमणअवधिमा आज अन्य विभिन्न क्षेत्रको पनि भ्रमण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement