गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा सोमवार नर्थईष्ट युनाइटेड फूटबल क्लबले एकतर्फी जीतको साथ सेमिफाइनलमा स्थान प्रवेश गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा नर्थईष्ट युनाइटेड फूटबल क्लबले रोयल फूटबल क्लब (दुबई)-विरुद्ध ६-१-ले जीत हासिल गऱ्यो। विजेता टीमका रोबिन छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम),पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।
भोलिको म्याच (चौथो क्वार्टर फाइनल): चेन्नईयन फूटबल क्लब बनाम चर्च बोयज युनाइटेड (नेपाल)