खरसाङ: श्री दमाइ समाज खरसाङको स्थापना दिवस एवं वार्षिक सभा सम्पन्न भएको छ। उक्त कार्यक्रम दमाई समाज खरसाङको सभापति प्रकाश सेवाको अध्यक्षता सम्पन्न भएको छ। यो कार्यक्रम खरसाङको पार्क लोकेशनमा अवस्थित सार्वजनिक भवनमा आयोजना गरिएको थियो। कार्यक्रम शुरू हुनभन्दा अघि समाजका सदस्यहरूले नौमती बाजासहित ऱ्याली आयोजना गरेका थिए। खरसाङको पार्क लोकेशनमा अवस्थित सार्वजनिक भवन अघिदेखि शुरू भएको यो ऱ्याली खरसाङ शहरको परिक्रमा गरी यसै स्थानमा आएर अन्त्य भएको थियो। ऱ्यालीपछि शुरू गरिएको स्थापना दिवस एवं वार्षिक सभाको सञ्चालन दमाई समाज खरसाङको प्रचार प्रसार सचिव उमेश कार्कीडोलीद्वारा गरिएको थियो। डाक्टर भीम राव अम्बेडकरको तस्वीरमा धूप-दीप प्रज्वलन गरेर कार्यक्रम शुरू गरिएको थियो। यस कार्यक्रममा विभिन्न विषयहरूमा वार्ता प्रस्तुत गरिएको थियो। यस कार्यक्रममा वार्ताको क्रममा विष्णु लावरद्वारा नौमति बाजाको एेतिहासिक पक्षहरू, डीबी नेपाली दमुले दमाई जातिको भाषा, साहित्य, संस्कार अनि संस्कृतिमाथि वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा विशेष गरेर दमाई जातिको नौमति टोलीलाई सक्रिय रूपमा विश्व स्तरमा अघि लगिरहेका सिक्किमका शेखर सेवा, आकाशवाणी सिलगढी एवं दूरदर्शनका कार्यक्रम प्रमुख योगेन्द्रराज सुन्दास, काठमाडौंका डीबी दमु नेपाली, सभासदद्वय प्रणाम रसाइली अनि परेस तिक्रीलाई पनि सम्बर्द्धना जनाइएको छ। उक्त सम्बर्ध्दनामा श्री दमाई समाज खरसाङको तर्फबाट खदार्पणसहित नेपाली टोपी, शल ओढाएर, फूल गुच्छा प्रदान गर्दै सम्मान पत्र र स्मृति चिन्ह प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। यसको साथै गायक महेश सेवा अनि बीर्तामोड़ नेपालका समाजसेवी बीरू दर्नाललाई पनि सम्बर्द्धना जनाइने भएता पनि कार्यक्रममा उनीहरू अनुपस्थित रहेका थिए।

कार्यक्रममा विभिन्न स्थानहरूका दमाई समाजका सक्रिय सदस्यहरूलाई पनि सम्मान जनाइएको थियो। यस क्रममा विभिन्न दमाई समाजका प्रतिनिधिहरू क्रमैले मङ्पुबाट अनि दर्जी, सोनादाबाट प्रेम सुनार, मिरिकबाट सहदेव रणपहेंली, सिलगढीबाट अष्ट मोहोरा, बिजनबारीबाट सन्तकुमार दास, कुमाईबाट रितु मोथे, कालेबुङबाट दिपक ढोली, सुकनाबाट देवदास दर्नाल, खरसाङबाट जगतबहादुर सेवा, सिक्किमबाट जेएम माले आदिलाई सम्मान जनाइएको छ।

यसका साथै यस कार्यक्रममा विश्व स्तरमा दमाई जातिको संस्था निर्माण गरिने पहल गरिने संस्थाका प्रचार प्रसार सचिव उमेश कार्कीढोलीले जानकारी दिएका छन्। श्री दमाई समाजको स्थापना दिवस एंव वार्षिक सभामा नै श्री दमाई समाज खरसाङ महकुमाको नयाँ कमिटी पनि गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति प्रकाश सेवा, उप सभापति ललित सुन्दास, महासचिव दिपेन सेवा, सह सचिव मनिष सेवा, कोषाध्यक्ष मुन्ना सुन्दास, प्रचार प्रसार सचिव उमेश कार्कीढोली, सल्लाहकारहरूमा हिरेन्द्रकुमार त्रिखत्री, सुरज नौवाग, महेन्द्र दर्नाल, कैलाश सेवा लगायत १५ जनाको कार्यकारिणी सदस्यहरू पनि चयन गरिएको छ जानकारी प्रचार प्रसार सचिव उमेश कार्कीढोलीले दिएका छन्।