एक वर्ष भित्रमा १०१ जना विदेशीलाई साउदी अरबमा मृत्युदण्डको सजाय

court-symbol-copy-1

साउदी अरबमा एक वर्ष भित्र १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको छ। शनिबार एक यमनी नागरिकलाई लागूऔषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो। योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशीको कुल संख्या १०१ पुगेको छ। यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो। सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो। युरोपेली साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (इएसओएचआर) का कानूनी निर्देशक ताहा अल–हज्जीले साउदी अरेबियाले एक वर्षमा यति धेरै विदेशीहरूलाई मृत्युदण्ड दिएको यो पहिलो पटक भएको बताए। सन् २०२४ मा साउदी अरबमा मृत्युदण्डको सजाय पाउने विदेशी नागरिकमा पाकिस्तान, यमन, सिरिया, नाइजेरिया, इजिप्ट, जोर्डन र इथियोपियाका नागरिक छन्। आफ्नो कठोर कानूनलाई लिएर साउदी अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्दै आएको छ। यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना छन्। त्यस्तै सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्सबाट एक एक जना छन्। अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एमनेस्टी इन्टरनेशनलका अनुसार वर्ष २०२३ मा सऊदी अरबले चीन र ईरानपछि सबैभन्दा बढी मृत्युदण्ड दिने देश बनेको छ। सऊदी प्रेस एजेन्सीको तथ्यांकअनुसार २०२४ को पहलो ९ महिनामा कम्तिमा २०० जनालाई मृत्युदण्ड दिइएको छ। यो पछिल्लो तीन दशकमा एक वर्षको अन्तरालमा मृत्युदण्डको संख्या धेरै हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement