नक्सलबारी: जंगली हात्तीको हमलामा परेर एउटै परिवारका दुई दाजु-भाइको मृत्यु भएको घटनामा वन विभागले परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ। सिलगढी महकुमा परिषदका सभाध्यक्ष अरुण घोष र खरसाङ वन विभागका डीएफओ देवेश पाण्डे आज नक्सलबारीको हातीघिसा मौरीजोतमा मृतकको परिवारका सदस्यहरूलाई आर्थिक सहायता प्रदान गर्न उपस्थित भएका थिए। आज उक्त परिवारलाई ५ लाख रुपियाँको चेक प्रदान गऱ्यो। यसको साथै, राज्य सरकारका नियमअनुसार परिवारका दुई जना सदस्यलाई वन विभागमा रोजगारी दिइने पनि बताइएको छ। यस अवसरमा एडीएफओ राहुल देव मुखर्जी, महकुमा परिषदका कर्माध्यक्ष किशोरी मोहन सिंह, नक्सलबारी पञ्चायत समितिका कर्माध्यक्ष असरफ अन्सारी, हातीघिसा प्रधान कैथरिन तामाङ, बाघडुग्रा रेञ्जका रेञ्जर सोनम भूटिया आदि उपस्थित थिए।