२८ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत आइतवार एउटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पूल ई-को म्याचमा होली लाइन फूटबल क्लबले युनाइटेड ब्रदर्स भेटरन एफसी-लाई ९-१-ले पिट्यो। विजेता टीमबाट अमन तामाङ र प्रणव राईले ह्याट्रिक गरे। यसबाहेक प्रद्युमन राईले २ अनि अजीत राईले १ गोल गरे। युनाइटेड ब्रदर्स भेटरनबाट अर्जुन छेत्रीले १ गोल गरे। यसको साथमा बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टमा पनि आज एउटा म्याच खेलियो। दार्जीलिङ डायनामो र सेण्ट रोबर्टस हाई स्कूलबीच म्याच १-१-ले ड्र भयो। म्याचमा दार्जीलिङ डायनामोबाट प्रज्वल राई अनि सेण्ट रोबर्टस हाई स्कूलबाट जामलिंग भूटियाले गोल गरे। सोमवार युनाइटेड फूटबल क्लब दार्जीललिङ र युनाइटेड रंगबुल फूटबल क्लबबीच म्याच हुनेछ।