सिलगढी: दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलासहित चार युवा घाइते भएको घटना हिजो राति भएको हो। दुर्घटना पछि, सबैलाई पहिले सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो, जहाँ चार जनाको अवस्था गम्भीर भएकाले उनीहरूलाई उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा रिफर गरिएको थियो। घाइते हुनेमा पूर्व धन्तला निवासी प्रमिला राय, घोघोमालीका रोहन सरकार, आशिघर कालोनीका हिमेश विश्वास र मदनी बजारका बप्पा दास रहेका छन्। तर, एकजनाको पहिचान भने खुल्न सकेको छैन। जानकारी अनुसार तीनजना युवक मोटरसाइकलमा सवार थिए। जबकि अर्को मोटरसाइकलमा एक महिला र एक पुरुष सवार थिए। त्यसपछि आशिघर चौकी अन्तर्गत इर्स्टन बाइपास क्षेत्रमा सडक पार गर्ने क्रममा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। यो दुर्घटनामा सबै घाइते भएका छन्। खबर पाएलगत्तै स्थानीयवासी घटनास्थल पुगेर आशिघर चौकी र भक्तिनगर ट्राफिक गार्डलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।