पोखरा (नेपाल): नेपालसहित ७० देशका ८ सय ७० आरोहीले शरद ऋतुमा हिमाल आरोहणको स्वीकृति लिएका छन्। यस मौसममा विभिन्न ३७ हिमाल आरोहणका लागि १११ पर्वतारोही समूहबाट २०२ महिला र ६६८ पुरुष गरी ८७० जनाले स्वीकृति लिएको पर्यटन विभागले जनाएको छ। पर्वतारोहणका लागि ६ करोड ३५ लाख ७९ हजार ५३ रुपियाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए। उनले शरद आरोहण लगभग अन्तिम चरणमा पुगेको बताए। निर्देशक गुरुङका अनुसार मनास्लु र हिमालुङको आरोहण सम्पन्न भइसकेको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ। अहिले साना समूहमा आरोही आउने गरेकाले दुईदेखि चार जनाले मात्रै आरोहण अनुमति पाउने उनको भनाइ छ।
विभागको पर्वतारोहण शाखाका अनुसार यस सिजनमा पनि अधिकतम २८ आरोही समूहमध्ये ३०८ जनाले मनास्लु (८ हजार १६३ मिटर) आरोहणको स्वीकृति लिएका छन्। अमादब्लममा १४ पर्वतारोहण समूहबाट १५८ आरोही, हिमाल आरोहणका लागि १० पर्वतारोही समूहबाट १२४ आरोही र धौलागिरी आरोहणका लागि एक आरोही समूह, मकालुको एउटा आरोहण समूहबाट १४ आरोही, एउटा आरोहण समूहबाट दुई आरोही समूहका दुई आरोहीले अनुमति पत्र लिएका छन्।