नयाँ दिल्ली: पूर्व भारतीय कप्तान सौरभ गांगुलीको भनाइअनुसार, अनुभवी स्पिनर रविचन्द्रन अश्विनलाई पर्थमा अष्ट्रेलियाविरुद्ध बोर्डर-गावस्कर ट्रफी सीरीजको पहिलो टेस्ट म्याचमा खेलाउनु पर्नेछ। भारत र अष्ट्रेलियाबीच ५ वटा टेस्ट म्याचको सीरीज खेलिनेछ अनि पहिलो टेस्ट शुक्रवारदेखि पर्थमा शुरु हुनेछ। अन्तिम समयमा खेलाड़ीहरूका चोट अनि केही खेलाड़ीहरूका खराब फर्मले गर्दा मुख्य प्रशिक्षक गौतम गम्भीरको चिन्ता बढ़ेको छ। विशेषगरी घरेलु टेस्ट सीरीजमा न्यूजील्याण्डविरुद्ध व्हाइटवाशपछि गम्भीर दबाउमा छन्। अश्विनले २०२३-मा वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलसहित केही निर्णायक म्याचहरूमा टीमबाट बाहिर राखिएको हुनाले अहिले पूर्व क्रिकेटर अनि प्रशंसकहरूबीच बहस शुरु भएको छ। पर्थको विकेटमा परम्परागत रूपले पेस बलरहरूलाई फाइदा प्राप्त हुन्छ अनि स्पिनरहरूले विकेट हासिल गर्न संघर्ष गर्नु पर्छ। टीममा अश्विन, रविन्द्र जडेजा र वाशिंगटन सुन्दर जस्ता स्पिनर रहे पनि भारतले पर्थमा केवल एकजनालाई खेलाउने सम्भावना छ।
बीसीसीआई-का पूर्व अध्यक्ष गांगुली चाहिँ यस मामिलामा कुनै बहस चाहँदैनन्। गांगुलीले भने, यसमा कुनै बहस हुँदैन। अश्विनले म्याच खेल्नु पर्छ। टेस्ट क्रिकेटमा सदा विशेषज्ञलाई खेलाउनु पर्छ। यसबाहेक अष्ट्रेलियाई ब्याटिंग क्रममा देब्रे हातका ब्याटहरूविरुद्ध अश्विन निश्चित रूपले प्रभावशाली साबित हुनेछन्। अश्विनलाई हालै न्यूजील्याण्डविरुद्ध होम टेस्ट सीरीजमा फर्म हासिल गर्न संघर्ष गरिरहेको देखिएको थियो। ३ वटा म्याचको सीरीजमा सुन्दर र जडेजाले १६-१६ विकेट लिएका थिए भने अश्विनको खातामा केवल ९ विकेट रहेको थियो। गत केही समयदेखि फर्ममा नरहे पनि गांगुलीले अश्विनलाई नै खेलाउने माग गरेका छन्। उनले भने, टीममा जडेजा र वाशिंगटन पनि छन् अनि दुवै असल ब्याटिंग पनि गर्छन् तर टेस्टमा तपाईंले सदा विशेषज्ञ स्पिनर खेलाउनु पर्छ। यसैकारण म अश्विनलाई समर्थन गर्छु।