गान्तोक:: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आज राजधानीको मनन केन्द्रमा आयोजित एक कार्यक्रममा राज्यका भोटिया लेप्चा समुदायहरूले अभिनन्दन जनाए। यहॉंको सोनाम ग्याछो मार्गमा पुनर्निर्माण गरिएको बीएल हाउसको उद्घाटनपछि मनन केन्द्रमा अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो।
मुख्यमन्त्रीको बाहुलीद्वारा उक्त पुनर्निर्माण गरिएको बीएल हाउस उद्घाटन गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा निमा लेप्चाले बीएल हाउसको पुनर्निर्माण कार्यको निम्ति मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले वर्तमान एसकेएम सरकारले राज्यमा सबै जात-जातिलाई समान हक र अधिकार प्रदान गर्दै विभिन्न जातीय भवनहरू निर्माण गरेको उल्लेख गरे। आजको दिन एक गौरवमय दिन रहेको बताउॅंदै वर्तमान मुख्यमन्त्रीको कुशल नेतृत्वका कारण आज सबै रिम्पोछेहरुको एउटै मञ्चमा दर्शन गर्ने अहोभाग्य प्राप्त भएको बताए।
उनले ८० को दशकमा तत्कालीन मुख्यमन्त्री स्व. नर बहादुर भण्डारीको सरकारकालमा बीएल हाउसको निर्माण गरिएको जानकारी गराउँदै मुख्यमन्त्री तामाङको मार्गनिर्देशनमा जीर्ण अवस्थामा रहेको बीएल हाउसको पुनर्निर्माण कार्य सम्भव भएको बताए। यो भवनको मर्मतसम्भारमा सबैको समन्वयताको आवश्यक्तामाथि पनि उनले जोर दिए।
आफ्नो सम्बोधनमा धर्म विभागका मन्त्री सोनाम लामाले बीएल हाउसको पुनर्निर्माणको निम्ति मुख्यमन्त्रीप्रति सम्पूर्ण बीएल समुदायको पक्षबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। यसैगरी उनले अन्य सबै सहयोगीहरूलाई पनि धन्यवाद दिए। उनले मुख्यमन्त्री तामाङको कुशल नेतृत्वमा राज्यका सबै समुदायलाई एक सुत्रमा बाँधेर राख्ने कार्य भएको छ भने। एसकेएम सरकारले राज्यका भोटिया लेप्चा समुदायप्रति गरेको विविध उल्लेखनीय कार्यहरूमाथि पनि उनले प्रकाश पारे। वर्तमान मुख्यमन्त्रीको कुशल नेतृत्वमा राज्यमा सबै धर्म र जात जातिले मान सम्मान प्राप्त गरेको मन्त्री लामाले दाबी गरे। पुनर्निर्माण गरिएको बीएल हाउसको उद्घाटनपछि मनन केन्द्रसम्म एक विशाल ऱ्याली आयोजना गरिएको थियो। यस ऱ्यालीमा मुख्यमन्त्री स्वयं पनि सहभागी बनेका थिए।