पुनर्निर्मित बीएल हाउसको मुख्यमन्त्री तामाङले गरे उद्घाटन

IMG-20241117-WA0249

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको सोनाम ग्याछो मार्गस्थित पुनर्निर्माण गरिएको भोटिया लेप्चा हाउस (बीएल हाउस) को उद्घाटन गरे। यस अवसरमा क्याब्जे रिम्पोछे, टुल्कु, खेन्पो लगायत अन्य रिम्पोछेहरू, विभिन्न गुम्पाका लामाहरू, मन्त्रीगण, विधायकगण लगायत अन्य गन्यमान्य व्यक्तिहरू उपस्थित थिए। यस अवसरमा बीएल हाउसमा आयोजना गरिएको भुटिया अनि लेप्चा समुदायको पारम्परिक पुजा अर्चनामा मुख्यमन्त्री तामाङले भाग लिए। बीएल हाउसको उद्घाटनपछि मनन केन्द्रसम्म एक विशाल ऱ्याली आयोजना गरिएको थियो। यस ऱ्यालीमा मुख्यमन्त्री स्वयं पनि सहभागी बनेका थिए।
मनन केन्द्रमा आयोजित एक कार्यक्रममा राज्यका भोटिया लेप्चा समुदायहरूले मुख्यमन्त्रीलाई अभिनन्दन पनि जनाएका थिए। यहाँको सोनाम ग्याछो मार्गमा पुनर्निर्माण गरिएको बीएल हाउसको उद्घाटनपछि मनन केन्द्रमा अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो।
मनन केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले बीएल हाउस अहिलेसम्म समुदायको नाममा दर्ता नभएको तर अन्ततः बीएल समुदायको नाममा दर्ता सम्पन्न भएको बताए। उनले आर्थिक स्थिरता हासिल गर्न समुदायलाई मिलेर काम गर्न आग्रह गर्दै सबैलाई उपलब्ध सुविधाको अधिकतम उपयोग गर्न प्रोत्साहित गरे। मुख्यमन्त्रीले टिम सिक्किमको ब्यानरमा भुटिया, लेप्चा, नेपाली र पुराना बसोबास गर्नेहरूबीच एकताबद्ध मोर्चाको आवश्यकतामा जोड दिँदै यसले सिक्किमलाई समृद्धितर्फ अघि बढाउने विचार व्यक्त गरे।
उनले समृद्ध, सुनौलो अनि समर्थ सिक्किमका लागि प्रयास गर्न समुदायहरूसँग आह्वान गर्दै एकताबाट मात्र विकास र समृद्धि हासिल गर्न सकिने कुरामा जोड दिए। मुख्यमन्त्रीले शब्दभन्दा कामले बढी बोल्ने भन्दै विभागको उपलब्धिको आधारमा मूल्याङ्कन गर्न आह्वान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा निमा लेप्चाले बीएल हाउसको पुनर्निर्माण कार्यको निम्ति मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले वर्तमान एसकेएम सरकारले राज्यमा सबै जात-जातिलाई समान हक र अधिकार प्रदान गर्दै विभिन्न जातीय भवनहरू निर्माण गरेको उल्लेख गरे। आजको दिन एक गौरवमय दिन रहेको बताउॅंदै वर्तमान मुख्यमन्त्रीको कुशल नेतृत्वका कारण आज सबै रिम्पोछेहरुको एउटै मञ्चमा दर्शन गर्ने अहोभाग्य प्राप्त भएको बताए।उनले ८० को दशकमा तत्कालीन मुख्यमन्त्री स्व. नर बहादुर भण्डारीको सरकारकालमा बीएल हाउसको निर्माण गरिएको जानकारी गराउँदै मुख्यमन्त्री तामाङको मार्गनिर्देशनमा जीर्ण अवस्थामा रहेको बीएल हाउसको पुनर्निर्माण कार्य सम्भव भएको बताए। यो भवनको मर्मतसम्भारमा सबैको समन्वयताको आवश्यक्तामाथि पनि उनले जोर दिए। आफ्नो सम्बोधनमा धर्म विभागका मन्त्री सोनाम लामाले बीएल हाउसको पुनर्निर्माणको निम्ति मुख्यमन्त्रीप्रति सम्पूर्ण बीएल समुदायको पक्षबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। यसैगरी उनले अन्य सबै सहयोगीहरूलाई पनि धन्यवाद दिए। उनले मुख्यमन्त्री तामाङको कुशल नेतृत्वमा राज्यका सबै समुदायलाई एक सुत्रमा बाँधेर राख्ने कार्य भएको छ भने। एसकेएम सरकारले राज्यका भोटिया लेप्चा समुदायप्रति गरेको विविध उल्लेखनीय कार्यहरूमाथि पनि उनले प्रकाश पारे। वर्तमान मुख्यमन्त्रीको कुशल नेतृत्वमा राज्यमा सबै धर्म र जात जातिले मान सम्मान प्राप्त गरेको मन्त्री लामाले दावी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement