गितडब्लिङको पोचोक प्राथमिक विद्यालयमा जारी शैक्षिक सत्रका लागि बालबालिकालाई गत बिहीबार युनिफर्म वितरण गरियो। अन्य विद्यालयमा त के कस्तो युनिफर्म आयो थाहा पाउन सकिएन, सायद गुणस्तर राम्रो नै थियो होला र त कतैबाट गुनासो आएन- सम्भवत: कोही बोल्न तयार भएनन्।

तर यता पोचोक प्राथमिक विद्यालयमा भने गतवर्षको तुलनामा यसवर्ष वितरित युनिफर्मको कपडाको गुणस्तर अत्यन्त निम्न स्तरको रहेको जानकारी प्राप्त भएको छ। यहाँसम्म गुणस्तरहीन र लापरवाही कि एउटा सर्टको दुइवटा बाहुलाको रङ्ग भिन्नाभिन्नै छ। एउटा बाहुला सेतो छ भने अर्को बाहुला क्रिम रङ्गको। भित्र अर्को लुगा नलगाई युनिफर्म लगाउन नसकिने। लगाएर हिँड्दा भित्र छ्याङछुङ देखिने- पारदर्शी। यस्तो युनिफर्ममा बालबालिकाले कसरी एक वर्ष बिताउने? किन र कसरी यस्तो हेलचेक्राई हुँदैछ? अत्यन्त गम्भीर विषय हो।

निजी अँग्रेजी नर्सरी विद्यालयहरू सँग सरकारी प्राथमिक विद्यालयको तुलना गरी सरकारी विद्यालयमा खोट लगाउने परम्परा पुरानो हो। सरकारी विद्यालयले बालबालिका र अभिभावकलाई आकर्षित गर्न नसकेको आरोप पनि लाग्ने गर्दछ तर सरकारी प्राथमिक विद्यालयहरूप्रति विद्यार्थी र अभिभावकको ध्यान केन्द्रित गराउन नसकिएको विभागिय कमी कमजोरी र व्यवस्थाको फ्यातुलोपनाले गर्दा पनि हो। बिभाग र व्यवस्थापन पक्षले हरेक कुरामा शिक्षक र विद्यालयलाई दोष्याएर ‘ढुंङ्गामा हलो अड्काएर गोरू चुटने’ प्रथा बन्द गर्नुपर्छ।
सरकारी प्राथमिक विद्यालयमा पढने नानीहरूलाई पनि प्राईभेट र मिसिनरी स्कुलका स्टुडेन्ट झैं ठाँटिएर स्कुल जाने व्यवस्था गरियोस् सरकार!