काठमाडौं: स्थानीय तह अन्तर्गत उपनिर्वाचन २०२४ का लागि १७ नोभ्मेबर आइतबार उम्मेदवारी दर्ता हुने कार्यक्रम छ। स्थानीय तहमा खाली रहेका ४४ पदमा दिसम्बरमा हुने निर्वाचनका लागि आइतबार उम्मेब्दारको मनोनयन दर्ता हुन लागेको हो। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार सम्बन्धित पालिकाको केन्द्र र वार्डमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा नोभेम्बर १७ आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेब्दारी मनोनयन दर्ता हुनेछ। ४४ पदका लागि आइतबार नै मनोनयन दर्ता हुनेछ। जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वार्ड अध्यक्षको ३४ पद खाली रहेका छन्। दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि खाली रहेका छन्। पालिका केन्द्रमा नौ र वार्ड केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय मार्फत ४२ पदको मनोनयन दर्ता हुँदैछ। जिल्ला समन्वय समितिको प्रमुख पदका लागि कैलाली र ओखलढुङ्गामा निर्वाचन हुनेछ। ओखलढुङ्गामा जिल्ला निर्वाचन अधिकारी र कैलालीमा प्रदेश निर्वाचन अधिकारी निर्वाचन अधिकृतको खटिएका छन्। स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०२४ अनुसार मनोनयनपत्र दाखिला गर्दा वार्ड अध्यक्षले एक हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले एक हजार पाँच सय रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुनेछ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि नोभेम्बर १७ आइतबारदेखि आचारसंहिता लागु गरेको छ। आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र तोकिएका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु हुने जानकारी गराएको छ। आयोगका प्रवक्ता पोखरेलले आयोग पदाधिकारीको १६ नोभेम्बरमा बसेको बैठकले निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था लागु गर्ने निर्णय भएको जानकारी दिए। आचारसंहिता उपनिर्वाचन हुने जिल्लाभित्र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय र सो निकायका पदाधिकारीलगायतलाई लागु हुने बताइएको छ।