२८ अगस्तः स्टार स्ट्राईकर एर्लिंग हालाण्डको ह्याट्रिकको दममा म्यानचेष्टर सिटीले असाधारण पुनरागमन गर्दै ईंग्लिश प्रीमियर लीगमा यादगार जीत दर्ता गऱ्यो। यसरी नै म्यानचेष्टर युनाइटेड, चेल्सी, लिभरपूल र आर्सनल पनि आ-आफ्नो म्याच जित्न सफल भयो। आफ्नो होम ग्राउण्ड सिटी अव् म्यानचेष्टर स्टेडियममा मध्यान्तरसम्म २ गोलले पछि रहने सिटीले असाधारण पुनरागमन गर्दै क्रिस्टल प्यालेस विरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। म्याचमा ७५ प्रतिशत पोजेशनको साथ खेले पनि सिटीले शुरुमै गोल खायो। जन स्टोन्सले चौथो मिनटमा आत्मघाती गोल गर्दा क्रिस्टल प्यालेसलाई बढ़त हासिल भयो। त्यसपछि जोआकिम एण्डरसेनले २१औं मिनटमा अझ एक गोल गर्दा सिटी ०-२-ले पछाड़िन पुग्यो।

मध्यान्तरपछि चाहिँ सिटीले प्यालेसको टीमलाई कुनै मौका दिएन। युवा हालाण्डले ६२औं, ७०औं र ८१औं मिनटमा गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे। यसअघि सिटीको तर्फबाट बर्नार्डो सिल्वाले ५३औं मिनटमा दर्शनीय गोल गरे। यस जीतपछि सिटी ४ वटा म्याचमा १० पोइण्टको साथ ईपीएल टेबलको दोस्रो स्थानमा रहन पुग्यो। यसरी नै १३औं स्थानमा रहने प्यालेससँग ४ पोइण्ट रहेको छ। असल लयमा रहने आर्सनलले आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा फूलहामलाई २-१-ले पराजित गऱ्यो। यस जीतको साथै आर्सनल ४ वटा म्याचमा १२ पोइण्टको साथ शीर्ष स्थानमा कायम रह्यो। म्याचमा आर्सनलबाट मार्टिन ओडेगार्डले ६४औं र गेब्रिएल मागालहेसले ८६औं मिनटमा गोल गरे।

फूलहामबाट एलेक्साण्डर मित्रोविचले ५६औं मिनटमा गोल गरे। फूलहाम ५ पोइण्टको साथ ११औं स्थानमा रहेको छ।
यसबीच लिभरपूलले आफ्नो होम ग्राउण्ड एनफील्डमा बोर्नमाउथलाई ९-०-ले पिट्यो। म्याचमा विजेता टीमबाट लुउस डियाज र रोबर्टो फिर्मिनोले २-२ गोल गरे। यसबाहेक हार्वे एलियट, ट्रेण्ट एलेक्जेण्डर-अर्नोल्ड, भर्जिल भ्यान डिक र फेबियो कार्वाल्होले पनि गोल गरे। एक गोल आत्मघाती (क्रिस मेफाम) रह्यो। यस एकतर्फी जीतपछि लिभरपूल ४ वटा म्याचमा ५ पोइण्टको साथ गोल अन्तरको आधारमा आठौं स्थानमा रहन पुग्यो। यसरी नै म्यानचेष्टर युनाइटेडले पनि लयमा आएको संकेत दिँदै लगातार दोस्रो जीत हासिल गऱ्यो। म्यानचेष्टर युनाइटेडले शनिवार राति साउथम्प्टन विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचको एकमात्र गोल ब्रूनो फर्नाण्डेजले ५५औं मिनटमा छिराए। यस जीतपछि म्यानचेष्टर युनाइटेड ४ वटा म्याचमा ६ पोइण्टको साथ सातौं स्थानमा रहन पुग्यो। साउथम्प्टन ४ पोइण्टको साथ १४औं स्थानमा रहेको छ। चेल्सीले पनि दशजना खेलाड़ीको साथ खेल्दै लिस्टर सिटी विरुद्ध २-१-ले जीत हासिल गऱ्यो।

कोनर गालाघेरलाई २८औं मिनटमा रातो कार्ड देखाइँदा दशजना खेलाड़ीमा सीमित हुने चेल्सीबाट दुवै गोल रहीम स्टर्लिंग (४७औं र ६३औं मिनट)-ले छिराए। साउथम्पटनबाट हार्वे बार्न्सले ६६औं मिनटमा एक गोल गरे। ब्रेण्टफोर्ड र एभर्टनबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। ब्राइटनले लीड्स युनाइटेलाई १-०-ले पराजित गऱ्यो।