रणनीतिमा सशक्त कदमहरूको घोषणा
दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको बैठक आज दार्जीलिङस्थित पार्टी मुख्यालयमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष मन घिसिङको अध्यक्षतामा बसेको बैठकमा विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा अनि केन्द्रीय समिति सदस्यहरूको उपस्थिति रहेको जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्। बैठकमा पार्टीको भावी रणनीति, आन्दोलनका कार्यक्रमहरू र गोर्खाहरूको समस्यासम्बन्धी विविध विषयमा व्यापक छलफल भएको छ। बैठकपछि जानकारी दिँदै केन्द्रीय समिति सेक्रेटरी जनरल एन. बी. छेत्रीले भने, “केन्द्र सरकारले गोर्खाहरूको समस्या समाधान गर्न ढिलाइ गरिरहेकोप्रति गोरामुमोले कडा ध्यानाकर्षण गराएको छ। यसै सन्दर्भमा, गृहमन्त्री अमित शाहसँग छलफल गर्न पार्टीको उच्चस्तरीय टोली छिट्टै दिल्ली जानेछ। गोरामुमोले सरकारलाई दबाब दिन कालो झण्डा अभियानलाई थप सक्रिय बनाउने र व्यापक पोस्टरिङ मार्फत गर्ने निर्णय पनि गरेको छ। साथै, आगामी ६ डिसेम्बर २०२४ मा छैटौं अनुसूची सम्झौता दिवस भव्य रूपमा मनाउने योजना बनाइएको छ।
बैठकले जाति र माटोको अधिकारका लागि आगामी दिनमा सशक्त आन्दोलनका कार्यक्रमहरू अघि बढाउने प्रस्ताव पारित गरेको छ। पार्टीले आफ्नो उद्देश्यप्रति प्रतिबद्धता जनाउँदै सबै सदस्य र समर्थकहरूलाई एकजुट हुन आह्वान गरेको छ।









