खरसाङ: खरसाङ क्षेत्रमा पर्यटकीय आर्कषकलाई वृद्धि गर्न तथा युवाहरूमा कुलत र कुसंगतबाट जोगाउने औ उनीहरूमा खेलकूदप्रतिको जागरूकता बढाउने उद्देश्य लिएर आगामी ८ दिसम्बर सम्पन्न हुने खरसाङ विन्टर रनबारे आवश्यक छलफल गर्न खरसाङ चिम्नी देउराली क्षेत्रका सभासद श्याम शेर्पाको पहलमा एक विशेष सभाको आयोजना गिद्ध पहाडस्थित जीटीए सचिवालयमा सम्पन्न गरियो। खरसाङ महकुमा खेलकूद सङ्घका सचिव निर्मल गुरुङले सञ्चालन गरेको सभामा खरसाङ एसोसिएशन फर टुरिज्म अनि कन्जरभेशनको प्रतिनिधिको रूपमा सचिव राजीव गुरुङ, संयोजक विधान गुरूङ लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा सर्वप्रथम खरसाङ महकुमा खेलकूद सङ्घका सचिव निर्मल गुरुङले खरसाङमा यसरी विन्टर रन गरिनुका विभिन्न उद्देश्य र औचित्यबारे प्रकाश पार्दै तिनले यस कार्यक्रममा सम्पूर्ण खरसाङवासीको भरपूर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। तिनले विशेषगरी युवावर्गले यस रनमा धेरै मात्रामा भाग लिएर कार्यक्रमलाई सफल पार्नुपर्ने आह्वान पनि गरे। सभासद श्याम शेर्पाले यो विन्टर रन विशेषगरी चिम्नी-देउराली क्षेत्रको निम्ति एउटा माइलखुट्टी हो भन्दै तिनले यस कार्यक्रमले यस क्षेत्रको महत्व अझ बढेर जानेछ भनी बताए। शेर्पाले यस्ता कार्यक्रमहरूले खरसाङको गरिमा र यहाँका पर्यटकीय स्थलहरूको महत्व र महिमा अझ बढेर जाने अवगत गराए। त्यसरीनै खरसाङ एसोसिएशन फर टुरिज्म अनि कन्जरभेशनका संयोजक विधान गुरूङले यस कार्यक्रमलाई संस्थाले भरपूर सहयोग गर्ने वचन दिँदै यस कार्यक्रमलाई पूर्णरूपले हर्षोल्लास अनि सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ भनी आह्वान गरे।