खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा अवस्थित तितस लेप्चा स्मृति पुस्तकालयमा साहित्यिक भेटघाट साथै सम्बर्द्धना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको सभापति बिनिता छेत्रीको अध्यक्षता र गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा एंव साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या आशा मुखिया लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रकाशक पारस लामा उपस्थित रहेका थिए। उक्त कार्यक्रमलाई सर्जक सञ्जीव छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा मुख्य आकर्षणको रूपमा नेपालमा आयोजित पोयट आईडल सिजन दुईको विजेता सिक्किमका कवि सिमियोन सुकिता राई उपस्थित रहेका थिए। उनले कार्यक्रममा केही कविताहरू र गजल वाचन गरेका थिए। उनीबाहेक सिटोङका गजलकार समीर लुगुन राई, तीनधारेका कवि मिलन प्रधान, कवि हनोक थापा लगायत विश्वजीत बाँस्कोटा, अनिस राई, आरजे समीर घिमिरे, प्रवणदीप छेत्री, सञ्जीव छेत्री, प्रमुख अतिथि आशा मुखिया लामा आदिले कविता, गजल वाचन गरेका थिए। कार्यक्रममा डा अम्बिका लामा पनि उपस्थित रहेका थिए। यसै कार्यक्रममा पोयट आईडल सिजन दुईको विजेता सिक्किमका कवि सिमियोन सुकिता राई र प्रमुख अतिथिको रूपमा उपस्थित आशा मुखिया लामालाई तितस लेप्चा स्मृति पुस्तकालय सिटोङको पक्षबाट सम्मान जनाइएको थियो। कार्यक्रममा कथाकार सन्ध्या आचार्यद्वारा वक्तव्य राखिएको थियो भने धन्यवाद ज्ञापन पुस्तकालयको सभापति बिनिता छेत्रीले राखेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आशा मुखिया लामाले सिटोङ आएर खुशी लागेको बताउँदै यसरी गाउँमा पुस्तकालय हुनु अत्यन्तै राम्रो रहेको बताइन्। उनले पुस्तकालय मन्दिर जस्तै रहेको र हरेक गाउँमा यस्ता पुस्तालकलयको संरक्षण र सम्बर्ध्दन गरिनु आवश्यक रहेको बताइन्। उनले आफ्नो सम्बोधनमा आफ्नो व्यस्त जीवनको उदाहरण दिन्दै मानिसले चाहे के पनि गर्न सकिन्छ भनी बताइन्। उनले आफ्नो पतिको स्मरणमा गाउँमा पुस्तकालय स्थापना गरेर सन्ध्या आचार्यले राम्रो काम गरेको बताउँदै पुस्कालय सञ्चालन समितिको सराहना गरेकी थिइन्।

यस अवसरमा उनले पुस्तकालयलाई आफ्नो कृतिहरू लगायत पुस्तकहरू उपहार गरेकी थिइन्। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सर्जक सञ्जीव छेत्री र पुस्तकालयको सभापति बिनिता छेत्रीले विस्तृत रुपमा जानकारी गराउँदै अचानक बनिएको कार्यक्रम भए पनि अन्त्यन्तै राम्रो भएको र यस्तो भेटघाट साथै साहित्यिक कार्यक्रम आयोजना गर्नु राम्रो हुने बताएका छन्। दुवैले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। यसको साथै आगामी दिनमा पनि यसरी नै उपस्थितिको आशा गरिएको बताएका छन्।