मुगु: रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदाको अवस्थामा मुगुका सर्वसाधारण जनता समस्यामा परेका छन्। समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीय जनता समस्यामा पर्न बाध्य छन्। रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका भने केही दिनअघि सबै हवाईजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारणले गर्दा रारा विमानस्थलका उडान प्रभावित भएका हुँन्। कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका सर्वसाधारणले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन्। जिल्लावासीका लागि हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ। स्थानीयहरूले हवाई कम्पनीलाई रारा विमानस्थलमा नियमित उडान सञ्चालन गर्नका लागि अनुरोध गर्दै आएका छन्। मुगु पर्यटकीय जिल्ला भएकाले दैनिकी उडान विगतमा भइरहने र पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थीलगायत अन्य समस्यामा परेकाहरु समस्यामा परेका छन्। सबै जहाजहरूले रारामा हप्तामा एउटा-दुईवटा उडान भर्दै आएका छन्। नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटक स्थलमार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइमार्गबाट फर्कने गर्दछन्। यहाँ नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित बनेका छन्।