गान्तोक: बाल दिवसको विशेष अवसरमा शिक्षा तथा खेलकुद मन्त्री राजु बस्नेतले सिक्किमका ९७ वटा सरकारी विद्यालय बन्द गर्ने घोषणा गरेर सिक्किमका नागरिकहरू, विशेषगरी विद्यार्थी र अभिभावक वर्गमा असन्तोष र चिन्ता बढाएको सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले बताएको छ।सीएपी विद्यार्थी कल्याण परिषदका उपाध्यक्ष कौशल लोहागणले आज जारी विज्ञप्तिमा यस्तो दाबी गरेका छन्।
उनले यस निर्णयप्रति गम्भीर असहमति प्रकट गर्दै भने, विश्वभर शिक्षा सबैलाई सहज र सर्वसुलभ बनाउने प्रयत्न भइरहेको आजको युगमा, सिक्किमको जस्तो सामाजिक र भौगोलिक चुनौती भएको राज्यमा विद्यालयहरू बन्द गर्नुले यहाँको शैक्षिक, सामाजिक, र नैतिक विकासमा प्रतिकूल असर पर्ने स्पष्ट छ। सरकारबाट विद्यालयहरू बन्द गर्नुको कारण र यस निर्णयमा कुनै विचार-विमर्श गरिएको हो कि हैन भन्ने प्रश्न अब उठिरहेको छ। सरकारलाई यस निर्णयको औचित्यबारे तुरुन्त स्पष्टिकरण दिन हामी जोडदार माग गर्दछौं।उनले प्रश्न गर्दै भने, के विद्यार्थी संख्यामा कमीको समस्यालाई सम्बोधन गर्न सरकारले कुनै सुधारात्मक उपाय अवलम्बन गरेको थियो? यस सम्बन्धमा विद्यार्थी, अभिभावक, र शिक्षकहरूसँग परामर्श गरिएको थियो कि थिएन? यी विद्यालयहरू बन्द गर्नु सरकारको शिक्षाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता र योजनाप्रति प्रश्नचिन्ह खडा गर्दछ। यसले सिक्किमका ग्रामीण क्षेत्रका आर्थिक रूपमा पछाडिएको वर्गका बालबालिकामा गहिरो प्रभाव पार्न सक्छ। उनले जनसंख्या घटिरहेको कारण देखाएर सरकारी विद्यालयहरूमा विद्यार्थी संख्याको कमी मात्र देख्नु उचित होइन भनेका छन्। उनले अझ भने, वास्तवमा, यो समस्या सिक्किमका जनताले भोग्नुपरेको आर्थिक चुनौती र शिक्षाको निजीकरणले शिक्षामा महंगी र असमानता सिर्जना गरेको प्रमाण हो। एकातर्फ सरकार निजी विद्यालयलाई आर्थिक सहयोग र प्रोत्साहन दिइरहेछ भने अर्कोतर्फ सरकारी विद्यालयहरू बन्द गर्नुले शिक्षामा समान अवसरको विरोधाभास प्रस्तुत गर्दछ। उनले ग्रामीण क्षेत्रका विद्यालयहरूमा दक्ष शिक्षकहरूको नियुक्ति, स्रोत साधनको उपलब्धता, र स्थानीय युवाहरूको सहभागितासहित विद्यालय सुधारको प्रक्रिया अघि बढाउनु पर्छ भनी सुझाउ दिएका छन्।