गान्तोक: असम लिञ्जेमा जनजाती अनुसन्धान संस्थान (टीआरआई) को उद्घाटन गरिएको छ। देशका प्रधानमन्त्रीले छत्तीसगढ़को रायपुरमा आयोजित एक कार्यक्रमबाट टीआरआईको भर्चुअल माध्यमद्वारा उद्घाटन गरे।यहॉं राज्यस्तरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सो टीआरआईको विधिवत उद्घाटन गरे।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले भगवान बीरसा मुण्डाको जीवनीमाथि प्रकाश पारे। उनले भगवान बीरसा मुण्डाको योगदानलाई देशव्यापी रूपमा स्मरण गरिन्छ भन्दै आजको दिनलाई राष्ट्रिय आदिवासी गौरव दिवस अर्थात जनजातीय गौरव दिवसको रूपमा पालन गर्ने गरिएको जानकारी गराए। यसैगरी, मुख्यमन्त्रीले गुरुनानक जयन्तीको पनि राज्यवासीहरूमा शुभकामना व्यक्त गरे।मुख्यमन्त्रीले केन्द्र सरकार अधीनस्त र राज्य सरकारको देखरेखमा रहेका यी स्कूलहरूमा अध्ययनरत विद्यार्थीहरूले धेरै राम्रा परिणामहरू ल्याइरहेको पनि उल्लेख गरे। वर्तमान सरकारले शिक्षालाई प्राथमिकता दिएर काम गर्दै आइरहेको बताउॅंदै मुख्यमन्त्रीले समाजको मेरुदण्ड नै शिक्षा रहेको बताए। शिक्षालाई सुधार गर्न केही योजनाहरूमा परिवर्तन गर्नुपर्ने जनाउँदै राज्यका लगभग एक सयवटा जति सरकारी स्कूलहरू बन्द गर्नुपर्ने अवस्थामा रहेको उनले जानकारी गराए।उनले स्थानानन्तरण भएर गएका प्रोवेशनरी शिक्षकहरूले त्यही स्कूलमा रहेर काम गरिदिन पनि आह्वान गर्दै यसले दुर्गम क्षेत्रका स्कूलहरू पनि शहरको जस्तो बनाउन सकिने मन्तव्य गरे। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले असम लिञ्जेमा मोडल स्कूल निर्माण गर्ने घोषणा गर्दै आगामी वर्ष २०२५ देखि मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजना मार्फत चयनित विद्यार्थीहरूलाई छैठौं कक्षामा भर्ना गराएर पढाउने व्यवस्था गरिने बताए।