नाम्ची: नाम्ची जिल्ला प्रशासनले आज जिल्ला प्रशासनिक केन्द्र परिसरमा जनजाति गौरव दिवस पालन गऱ्यो। समाज कल्याण विभागले जिल्ला प्रशासन नाम्चीको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नाम्ची–सिङ्गीथाङ क्षेत्रका विधायक सतीशचन्द्र राई मुख्य अतिथिका रुपमा उपस्थित थिए। यसका साथै पद्मश्री खाण्डु वाङ्चुक भोटिया, जिल्लापाल अनुपा ताम्लिङ, वरिष्ठ पुलीस अधीक्षक डा. टीएन ग्यात्छो विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राईले जनजाति स्वतन्त्रता सेनानी भगवान बिरसा मुण्डको जन्मजयन्तीबारेमा जानकारी गराए। उनले स्वाधिनतापूर्व उनले पुऱ्याएको अतुलनीय बलिदानबारे जानकारी गराउँदै यस्ता स्वतन्त्रता सेनानीहरूबाट प्रेरणा लिँदै समुदायहरूबीच एकता बनाउँदै राष्ट्रको हितका लागि कार्य गर्ने सुझाउ दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको राज्य सरकारले जनजाति समुदायको जीवनस्तर उकास्न प्रभावी काम गर्दै एको स्मरण गराए। सो अवसरमा जिल्ला प्रशासनले परम्परागत कला, साहित्य र लोकगीतको क्षेत्रमा उल्लेखनीय योगदान गरेका जनजाति व्यक्तित्वहरुलाई सम्मान गरेको थियो। त्यसैगरी प्रमुख अतिथिले टेबलटेनिसमा राष्ट्रिय स्तरमा भाग लिएका विद्यार्थी साम्तेन तामाङ र छोडेन शेर्पालाई पनि सम्मान गरेका थिए।