गान्तोक: सोरेङ जिल्लाअन्तर्गत टिम्बुरबोङमा ७१औं सहकारी सप्ताह पालन गरियो। कार्यक्रममा सिक्किम मिल्क युनियनका अध्यक्ष यमकुमार शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि शर्माले सहकारिता चेतनाको महत्त्व र सिक्किममा आत्मनिर्भरता अभियानबारे बताए। उनले मुख्यमन्त्रीको सुनौलो सिक्किम समृद्धि सिक्किमको सपना पूरा गर्नका साथै राज्यमा सहकारी आन्दोलनलाई कसरी बलियो बनाउन सकिन्छ सोबारे प्रकास पारे। उनले बार्षिक साधारण सभामा छलफल भएको कृषक केन्द्रित कार्यक्रमलाई सक्रियता दिन गम्भीरता देखाउन पर्ने सल्लाह दिए। सिकोनमा अध्यक्ष डा मंगलजीत राईले आफ्नो सम्बोधनमा सहकारी सप्ताहलाई अन्तर्राष्ट्रिय सहकारी सप्ताहका रूपमा मनाइनुको कारणबारे उल्लेख गरे। उनले सशक्त र जीवन्त सहकारी विकासमा यसको महत्व रहेको बताए। यसबीच सिक्किमका राज्यपाल र मुख्यमन्त्रीको सन्देश पनि पठन गरियो। सिकोन अध्यक्ष राईले अहिलेको पुस्ताले दुध उत्पादनलाई आत्ऱिक विकासको विकल्पको रुपमा लिनलसके आत्मनिर्भर बनाउन सकिने उल्लेख गरे। उनले राज्यमै दुध उत्पादन र बिक्रीमाथि ध्यान केन्द्रित गरेन भने बाहिरीबाट ल्याउनपर्ने कुरामा जिकिर गरे। सिक्किममा फार्मा कम्पनीहरू, पावर कम्पनीहरू, अर्धसैनिक बलहरूमा आपूर्ति गर्न दुधको उत्पादन जरूरी बन्ने बताए। सिस्कोका उपाध्यक्ष किशोर शर्माले सहकारी आन्दोलन कसरी र कहिले सुरु भयो सोबारे अनुभव राखे।