साेनादा: खस भारतीय हितकारी सम्मेलन सुकना शाखाको वार्षिक साधारण सभा सुकनास्थित सार्वजनिक भवनमा शाखाका सभापति प्रा. मेघनाथ छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभाका अध्यक्ष लगायत प्रमुख अतिथि खस भारतीय हितकारी सम्मेलन च्याँगा पानीघट्टा अञ्चलिक समितिका सभापति रवीन छेत्री बास्तोला लगायत अतिथिहरूको बाहुलीबाट दीप प्रज्वलन भई दिवङ्गत आत्माहरूप्रति स्मरण गर्दै शुभारम्भ भएको उक्त सभामा सुकना शाखाका सचिव दुर्गा शर्माले स्वागत सम्बोधनसंगै सचिवको लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए भने शाखाका कोषाध्यक्ष तथा केन्द्रीय संयुक्त सचिव कृष्ण छेत्री र कल्याण कोषका संयोजक सिमल छेत्रीले आ-आफ्ना प्रतिवेदन पेश गरेका थिए। केन्द्रीय समितिका अध्यक्ष जे.बी बस्नेत, केन्द्रीय सदस्य नवीनचन्द्र पराजुली, हिमालय दर्पणका सम्पादक शिबु छेत्री, सैनिकपुरी, शिव मन्दिर, हिमाली शहीद नगर शाखाका सभापति- सचिवहरू लगायत शाखाका संरक्षकगण, प्रमुख सल्लाहकारहरू अतिथिका रूपमा रहेको उक्त सभामा प्रमुख अतिथि तथा अञ्चलिक समितिका सभापति रवीन छेत्री (बास्तोला) ले खस भारतीय हितकारी सम्मेलनको गतिविधिहरू बारेमा जानकारी दिँदै गोसाईँपुरमा खस भवनको शिलान्यास हुन लागेको कुरो पनि अवगत गराए साथै आगामी १७ नोभेम्बर आइतबारको दिन दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा भव्य खस सांस्कृतिक महोत्सव सम्पन्न हुने कुरो पनि बताए। सभालाई नारी प्रकोष्टका सचिव प्रीति ब्राह्मिणले शाखालाई अझ सक्रिय बनाउने आह्वान गरिन्। सभाका सभापति प्रा.मेघनाथ छेत्रीले सभालाई सम्बोधन गर्दै जात-जात मिलेर एउटा जाति बनिने भएकोले जातिलाई सभ्य, सुसंस्कृत र मजबुत बनाउन पहिला सम्पूर्ण जात गोष्ठीहरु आ-आफ्ना संस्कार-संस्कृतिप्रति सजग हुन आवश्यक रहेको कुरो बताए। सबै जात-गोष्ठीले एकताबद्ध भई आ-आफ्ना जातगत भाषा, संस्कार- संस्कृतिको संरक्षण सम्बर्द्धन गर्नाले मात्र जातीय फूलबारी सुन्दर हुने कुरो उनले जनाउदै खसहरूको संस्कार संस्कृतिको संरक्षण- सम्बर्द्धनको लागि खस भारतीय हितकारी सम्मेलनलाई अझ मजबुत बनाउन साथ र सहयोग दिनुहुने सबैलाई कृतज्ञता प्रकट गरेका थिए। यस अवसरमा शाखाका अस्सी वर्षभन्दा धेर उमेर पार गरिसकेका वरिष्ठ नागरिकहरू क्रमैले रूक्मणि शर्मा, गिता छेत्री, कुन्ति छेत्री, बिष्णु शर्मा, साेममाया छेत्री, धनमाया गिरी, बिबिमाया शर्मा, भरत गिरी र ध्रुबराज छेत्रीलाई सम्मान जनाउँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरिएको थियो भने सुकना शाखामा विगतका दिनमा विशिष्ट योगदान दिनु हुने जनक शर्मा, एम.के छेत्री, भरत गिरी, थिरालाल भट्टराईलाई पनि सम्बर्द्धना जनाइएको थियो। यस वर्ष २०२४ मा दशौं र बाह्रौं श्रेणीका परीक्षामा प्रथम दर्जामा उत्तीर्ण गर्ने खस मेधावी विद्यार्थीहरू सक्षम शर्मा, एकलव्य शर्मा, मेनुका छेत्री, आदित्य शर्मा, योगेन्द्र कुमार विष्ट छेत्री, क्षितिज छेत्री, अभिलाषा दाहाल, एञ्जिलिना शर्मा लगायत मेडिसिन म्युजिक थेरापी जस्ता विषयमा एम.एस्सीमा स्वर्ण पदक प्राप्त गरेका अङ्कित खरेललाई उत्तरोतर शैक्षिक प्रगतिको कामनासहित सम्बर्द्धना जनाइएको थियो।

वार्षिक साधारण सभामा सुकना शाखालाई आगामी दिनमा अझ मजबुत बनाउन केही महत्वपूर्ण प्रस्तावहरू ग्रहण गरी अनुमोदन गरेका थिए। शाखाका बाल कलाकार सेल्भेन छेत्रीले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। सभालाई सागर शर्मा, दुर्गा शर्मा र कृष्ण छेत्रीले सञ्चालन गरेका थिए।