खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरूद्वारा तीनधारेको बीस माइलस्थित शान्ता भवनको भ्रमण गरिएको छ। विद्यार्थीहरूलाई पुस्तकीय ज्ञानबाहेक शैक्षिक भ्रमण पनि आवश्यक रहेको भन्दै शान्ता भवनमा रहेका वृध्द वृध्दाहरूसित भेटघाट गर्ने कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम अन्तर्गत तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पाँचौंदेखि दशौं श्रेणीसम्मको जम्मा १२-१३ जना विद्यार्थीहरूलो शान्ता भवनको भ्रमण गर्दै वृध्द वृध्दाहरूलाई भेट गरेका थिए। यस अवसरमा विद्यालयका तर्फबाट शिक्षक विदुर प्रधान, बिजय लिम्बु, शिक्षिका ज्योति मुखिया, अशिक्षणकर्मी योगेन लामा उपस्थित रहेका थिए। यस अवसरमा विद्यालयको पक्षबाट वृध्द वृध्दाहरूका लागि खाद्य सामाग्रीहरू लिएर लगिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई अाफुभन्दा ठूलाहरूका सम्मान गर्न सिकाउनु साथै वृध्द वृध्दाहरूलाई पनि सम्मान गर्न सिकाउनु रहेको बताइएको छ। यसको साथै वृध्दाश्रममा रहेका वृध्द वृध्दाहरूको अवस्थालाई नजिकबाट हेर्नु साथै आफ्ना अभिभावकहरूलाई भविष्यमा यसरी वृध्द वृध्दाहरूलाई वृध्दाश्रममा नपठाएर आफै माया गरेर राख्नु पर्ने विषयमा सिकाउनु रहेको बताइएको छ। यसै क्रममा विद्यालयमा बाल दिवस पालन गरिएको छ। उक्त बाल दिवस कार्यक्रम शिक्षक प्रभारी रञ्जना प्रधानको अध्यक्षतामा र सह शिक्षिका सञ्जुली छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ। यस अवसरमा शिक्षक प्रभारी रञ्जना प्रधानको बाहुलीबाट पण्डित जवाहरलाल नेहरूको तस्वीरमा धुप दिप प्रज्वलन र खदार्पण गरेर कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा शिक्षक दिवाकर शंकरद्वारा किबोर्डको धुन सुनाएका थिए। कार्यक्रममा शिक्षक विशाल प्रधानद्वारा गीत अनि सुप्रेम छेत्रीद्वारा कविता पठन गरेका थिए। कार्यक्रममा बाल दिवस र कार्यक्रमको उद्देश्य विषयमा शिक्षिका सञ्जुली छेत्रीले वक्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षा एंव शिक्षक प्रभारी रञ्जना प्रधानले बाल दिवस र शिक्षा विषयमा वक्तव्य राखिन्। उनले नेहरुको जन्मदिन नानीहरूलाई समर्पित दिन हो भन्दै विद्यार्थीहरूले शिक्षामा ध्यान दिनु पर्ने बताएकी छन्।