भक्तिमान तामाङ संयोजकको रूपमा चयन
खरसाङ: तामाङ युउथ एसोसिएशन खरसाङ महकुमा समितिको आकस्मिक सभा खरसाङको एक होटलमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता दावा वाङ्दी लामाले गरेका थिए भने सञ्चालन राजीव तामाङलो गरेका थिए। सभामा खरसाङ महकुमा समिति अन्तर्गत पर्ने सबै क्षेत्रहरूका सदस्यहरू साथै खरसाङ नगरपालिकाको बीसवटै वार्डहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभालाई तामाङ युउथ एसोसिएशन तामाङ ब्लक कमिटीको सभापति अजय लामा, सचिव भिषण तामाङ लगायत भक्तिमान तामाङ, सहदेव तामाङ, बीरेन तामाङ, सन्तोष तामाङ, दिपेस तामाङ, दावा वाङ्दी लामा आदिले सम्बोधन गरेका थिए। यसै सभामा उपस्थित सबै सदस्यहरूका सर्वसहमतिद्वारा भक्तिमान तामाङलाई तामाङ युउथ एसोसिएशन खरसाङको संयोजक चयन गरिएको छ। त्यसरी नै राजीव तामाङलाई प्रवक्ता र प्रचार प्रसार सचिवमा चयन गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै नयाँ चयन भएका संयोजक भक्तिमान तामाङले आज खरसाङमा तामाङ युउथ एसोसिएशनको आकस्मिक सभा आयोजना गरिएको बताएका छन्। उक्त सभा आयोजना गरिनुको मुख्य उद्देश्य गत १२ नोभेम्बरमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले तामाङ सांस्कृतिक विकास बोर्डको चेयरम्यानको रूपमा गोपाल लामालाई चयन गरेकोले तामाङ युउथ एसोसिएशन खरसाङ महकुमा समितिले चाढ़ै गोपाल लामालाई सम्बर्द्धना जनाउने कार्यक्रम आयोजना गर्नलाई यो सभा राखिएको जानकारी गराएका छन्।

यसको साथै उनले हालैमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले विभिन्न विकास बोर्डहरुका सञ्चालनको लागि मनिटेरिङ सेलको चेयरम्यान जीटीए प्रमुख अनित थापालाई मनोनित गरेकोमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। उनले जीटीए प्रमुख अनित थापा र एलबी राईलाई पनि बधाई दिएका छन्। उनले तामाङ युउथ एसोसिएशनको पक्षबाट तामाङ विकास बोर्डको चेयरम्यान गोपाल लामालाई सम्मान जनाइने जानकारी गराएका छन्।