घोराही: प्रहरीले दाङको तुलसीपुरउपमहानगरपालिका-९ बेलुवामा नक्कली नोटसहित चार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१० राइखल्यानका ३० वर्षीय राममनी चौधरी, १७ वर्षीय सुमन विक, १९ वर्षीय धनबहादुर खत्री र १७ वर्षीय शिशिर विक रहेका छन्। उनीहरूको साथबाट प्रहरीले हजार दरका १२ वटा नक्कली नोट फेला परेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख डिएसपी अनिल ठकुरीले पक्राउ परेका अभियुक्तले नक्कली नोट लिएर बजारमा कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताए। उनले भने, ‘नक्कली नोटको कारोबार भइरहेको सूचनापछि प्रहरी घटनास्थल पुग्यो। नभन्दै हजार दरका नक्कली नोटसहित युवाहरु पक्राउ परे। उनीहरूसँग हजार दरका १२ वटा नोट फेला परेका छन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ।’
प्रहरीका अनुसार नोटको स्रोत अझै खुलेको छैन। पक्राउ परेका अभियुक्त र उनीहरूसँग सम्बद्ध प्राविधिक अनुसन्धान भइरहेको हुँदा तथ्य अझै खुलिनसकेको डिएसपी ठकुरीले बताउछन्।