कुमामोतो: विश्वकी पूर्व नम्बर एक खेलाड़ी तथा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धू प्री-क्वार्टर फाइनलमा पराजित हुनको साथै कुमामोतो मास्टर्स जापान सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टमा भारतको चुनौती समाप्त भयो। सिन्धूभन्दा अघि पुरुष एकलमा लक्ष्य सेन अनि महिला युगलमा त्रिसा जली र गायत्री गोपीचन्दकी जोड़ीले हारको सामना गर्नु परेको थियो। विश्वकी २०औं नम्बरकी खेलाड़ी सिन्धूलाई आज कनाडाकी मिचेल ली-ले १७-२१, २१- १६, २१-१७-ले पराजित गरिन्। म्याच लगभग ७५ मिनटसम्म चल्यो। म्याचको पहिलो गेममा सिन्धूले ११-८-को बढ़त हासिल गरिन्। त्यसपछि कनाडाकी खेलाड़ीले प्रयास गरे पनि सिन्धूले बढ़तलाई अन्तसम्म कायम राखेर पहिलो गेम जितिन्। दोस्रो गेममा ली-ले आक्रामक खेल देखाइन् अनि चाँडै ८-३-को बढ़त हासिल गरिन्। सिन्धूले पनि पछिबाट पुनरागमन गर्दै एक समय १६-१६-को बराबरी हासिल गरेकी थिइन्। त्यसपछि ली-ले सिन्धूलाई अधिक मौका दिइनन् अनि लगातार ५ पोइण्ट्स हासिल गरी दोस्रो गेम जितेर म्याचलाई निर्णायक गेमसम्म पुऱ्याइन्। निर्णायक गेममा पनि रोमाञ्चक लड़ाइँ भयो अनि एक समय स्कोर १७-१७-को बराबरीमा रहेको थियो। त्यसपछि ली-ले लगातार ४ पोइण्ट्स हासिल गरी म्याच जितिन्।